नवलपुरकाे देवचुलीमा दुई मोटरसाइकल ठोक्किँदा नेपाली सेनाका सिपाहीको मृत्यु

नवलपुरकाे देवचुलीमा दुई मोटरसाइकल ठोक्किँदा नेपाली सेनाका सिपाहीको मृत्यु

नवलपुर। नवलपुरको देवचुली नगरपालिका–१७ झरहीखोला स्थित पूर्व–पश्चिम राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा नेपाली सेनामा कार्यरत एक सिपाहीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहीबार साँझ नारायणगढबाट कावासोतीतर्फ आउँदै गरेको बा.प्र.०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लु.प्र.०१–०११ प ९९९१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनापछि सडकमा लडेका मोटरसाइकल चालकलाई कावासोतीबाट नारायणघाटतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले किचेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका बा.प्र.०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ निवासी २६ वर्षीय दिनेश गिरीलाई उपचारका लागि तत्काल देवचुली नगर अस्पताल दुम्कौली लगिएको थियो। अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतक गिरी नेपाली सेनाको श्री नयाँ गोरख गण राष्ट्रिय निकुञ्ज कसरा, चितवनमा सिपाही पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। लु.प्र.०१–०११ प ९९९१ नम्बरको मोटरसाइकल चालक रुपन्देही सिद्धार्थनगर नगरपालिका–१२ निवासी ३४ वर्षीय रोहन पन्थीको बाँया हात र दाहिने खुट्टामा सामान्य चोट लागेको छ। उक्त मोटरसाइकलमा पछाडि सवार रुपन्देही तिलोत्तमा नगरपालिका–१६ निवासी २५ वर्षीय अमृत आचार्यको दाहिने हात र खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

यस्तै, बा.प्र.०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकलमा पछाडि सवार रामेछाप मन्थली नगरपालिका–७ निवासी २६ वर्षीय डम्बर बहादुर माझीको बाँया हातमा चोट लागेको छ। उनी पनि नेपाली सेनाको श्री नयाँ गोरख गण राष्ट्रिय निकुञ्ज कसरा, चितवनमै कार्यरत सिपाही रहेको प्रहरीले जनाएकाे छ ।

दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने ठक्करपछि किचेर फरार भएको ट्रकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology