कावासोती । निर्माण कम्पनीको लापरबाहीले नवलपुर स्थित कालीगण्डकी नदीमा निर्माणाधीन पुल १० वर्षदेखि अधुरै छ ।
नवलपुरको बुलिङ्टार र तनहुँको रिसिङ गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदीमा २०७२ मा पुल निर्माण सुरु गरिएको थियो । पुल निर्माण सुरु गरेको १० वर्षमा ६० प्रतिशत मात्र काम भएको पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर विदुर सुवेदीले जनाए । ठेकेदार कम्पनीले काम नसक्दै १३ करोड बढि रुपैयाँ भुक्तानी लगिसकेको उनले बताए ।
‘हालसम्म ६० प्रतिशत काम सकिएको छ । १३ करोड भुक्तानी भने लगिसकेको छ,’ उनले भने,
पुल निर्माणका लागि संयुक्त रूपमा काम गर्ने गरी ३ कम्पनीले ठेक्का लिएका थिए । जिम्मेवारी पाएका तीन वटै ठेकेदार कम्पनीले समयमा काम नगर्दा काम अलपत्र भएको पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर सुवेदीको भनाइ छ । २६ करोड ८२ लाख रुपैयाँ लागतमा लुम्बिनी, स्वच्छन्द र नागार्जुन निर्माण कम्पनीले संयुक्त काम गर्ने गरी जिम्मेवारी लिएका हुन् । पटक पटक म्याद थपिने गरेको भए पनि विभिन्न बहाना देखाएर निर्माण कम्पनीले काम नगरेको सुवेदी बताउछ्न । “विगतमा विभिन्न बहाना देखाएर काम गरेनन, यो वर्ष केही काम भएको थियो, अहिले फेरि मुल्य वृद्धि र महङ्गीको बहाना देखाएर काम रोकेका छ्न”, सुवेदीले भने ।
काम थालेको १० वर्षमा कालीगण्डकीमा ४ वटा पिलर ठड्याइएको छ । २ सय ९० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको पुलमा ५ स्पान रहने डिजाईनमा भएको भए पनि अहिलेसम्म एउटा स्पानको मात्रै काम सम्पन्न भएको सुवेदीले जानकारी दिए । निर्माण अलपत्र परेपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ । ‘काम थालेको यतिका वर्ष भइसक्यो ठेकेदारले नियमित काम गर्दैन्न’ स्थानीय ओमकुमार श्रेष्ठले भने ।
महेन्द्र राजमार्गको कावासोती, दलदले, कोखे सडक हुँदै तनहुँको रिसिङ आउजाउ गर्न यो पुल आवश्यक पर्छ । कालीगण्डकी करिडोरअन्तर्गतको बुलिङटार–४ मा पर्ने कोखेमा यो पुल निर्माण सुरु भएको हो । कोखे बजारबाट एक सय मिटर उत्तरमा रहेको कालीगण्डकी नदीको घाट किनारलाई गडगडीघाट भनिन्छ । गैंडाकोट, कावासोती र दलदलेबाट अर्खला कोखे हुँदै भिमाद पोखरा पुग्न यो पुल तरेर जाँदा बाटो छोटो हुन्छ । गैंडाकोट, कावासोती र दलदलेबाट पोखरा जाने यात्रु हाल कोखेभन्दा १३ किलोमिटर पश्चिम डेढगाउँ हुँदै तनहुँको भिमाद बजार पुग्ने गरेका छन् ।
Facebook Comment