नवलपुर । नवलपरासीको सुस्ता गाउँपालिका–५ को बस्तीमा नारायणी नदी पसेर हरेक वर्ष डुवान गर्न थालेपछि तटबन्ध निर्माणको कामलाई तिब्रता दिइएको छ । नयाँ, सस्तो र भरपर्दो आरसीसी ‘प्रोकोपाइन’ प्रविधिबाट तटबन्ध निर्माणको कामलाई तिब्रता दिइएको हो ।
अहिले सुस्ता पुलबाट पूर्वतर्फ झण्डै नौ सय मिटरको क्षेत्रफलमा नदी नियन्त्रण तथा व्यवसथापनको काम भइरहेको सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुरका प्रमुख डा नारायण प्रसाद सुवेदीले जानकारी दिए । हरेक वर्ष नारायणी बस्तीमा पसेर सुस्ता नै जोखिममा पर्न थालेपछि नदी नियन्त्रण तथा व्यवस्थापन गर्न थालिएको हो ।
के हो ‘प्रोकोपाइन’ प्रविधि
यो नदी किनारको तटबन्ध जोगाउन र बाढी नियन्त्रण गर्न प्रयोग गरिने एक प्रभावकारी र कम लागतको प्रविधि हो । यसमा बालुवा, गिट्टी, सिमेन्ट र रडको प्रयोग गरेर तीनवटा पिल्लरहरूलाई त्रिभुज आकारमा नट–बोल्टले कसेर बनाइन्छ, जसले नदीको बहावलाई अन्यत्र मोडी कटान नियन्त्रण गर्दछ ।
‘‘तीन मिटर र पाँच मिटर लम्बाई तथा १० सेन्टिमिटर चौडाई भएका ६ वटा सिमेन्टका पोललाई जोडेर एउटा त्रिभुज आकारको संरचना तयार गरिन्छ र बाहिरी भागमा फलामका जाली राखिन्छ । त्यसलाई तीन तह बनाएर नदीको १५ मिटर अगाडीसम्म र ६ मिटर गहिराईमा राखिन्छ, आयोजनाका इन्जिनियर बेल बहादुर बिकले भने, ‘‘यसले नदीले बगाएर ल्याएका रुख, घाँस, पातपतिङ्गरलाई रोक्छ र नदीको बहाव परिवर्तन गराउँछ ।’’
यहाँ नदीको गहिराई बढी भएकाले त्यहाँ ग्याविनको जाली हालेर वा अन्य प्रविधि अपनाएर काम गर्न नसकिने भएककाले प्रोकोपाइन विधि अपनाइएको उनको भनाइ छ ।
नदीको तल्लो तह र माथिल्लो तहमा तटबन्ध निर्माणका लागि चितवन र पोखराका दुईवटा कम्पनीले ठेक्का लिएर काम गरिरहेका हुन् । तल्लो तहमा तटबन्ध बनाउन केडी कन्स्ट्रक्सन पोखराले चार करोड ६६ लाख ६६ हजार ३९३ रुपियाँ र माथिल्लो मागका लागि शिवम कन्स्ट्रक्सन जेभी प्रालि चितवनले सात करोड १७ लाख ४१ हजार ७२६ रुपैयाँमा ठेक्का पाएका हुन् ।
२०८२ चैत १ गतेदेखि सुरु भएको काम दुबै कम्पनीले आगामी असार २२ गते भित्र सम्पन्न गर्नु पर्ने सम्झौता छ । सम्झौता अनुसार नै तिब्र गतिमा काम भइरहेको आयोजना प्रमुख डा सुवेदीले बताए । ‘‘हामीसँग निक्कै थोरै समय थियो, थोरै समयमा पनि हामीले जति गर्न सक्थ्यौ, त्यो भन्दा बढी काम भइरहेको छ, हाम्रा प्राविधिकहरु २४सै घण्टा खटिएकाले यो सम्भव भएको हो’’ उनले भने ।
पहिलो चरणमा सुस्ताको अत्याधिक जोखिम भएको क्षेत्रमा नियन्त्रणको प्रयास गरिएको छ । यहाँ नदी व्यवस्थापन गर्न नसकेमा समग्र सुस्ताकै भविष्य नरहने भन्दै सरकारले तटबन्ध निर्माणको काम तिब्रता दिएको सुवेदीले बताए । गतवर्ष नारायणी नदीको वाढी बस्तीमा पसेर ऐतिहासिक भुमि सुस्तामा जोखिम निम्त्याएपछि कटान गरेको झण्डै नौ सय मिटर क्षेत्रमा नदी नियन्त्रण तथा व्यवस्थापनको काम भइरहेको छ ।
डुंगामा ढुंगा
नदीको बहाब हुने अघिल्लो भागमा प्रोकोपाइन लगाइए पनि पछिल्लो भागमा ढुंगाको पर्खाल लगाएर तटबन्ध निर्माण गरिदैछ । त्यसका लागि झण्डै १० हजार घनमिटर ढुंगा चाहिने आयोजनाको अनुमात छ । तर नारायणीको बगरमा बालुवा मात्र भएकाले ढुंगा खोज्न निक्कै समस्या भएको आयोजना प्रमुख डा सुवेदीले बताए ।
‘‘चार पाँच किलोमिटरसम्म टाढा पुगेर बालुवा पन्छाउँदै एक एक वटा ढुंगा संकलन गर्नु पर्दा निक्कै समय लाग्ने गरेको छ,’’ सुवेदीले भने, ‘‘यसरी संकलन गरेर थुपारिएका ढुंगा ट्रयाक्टरबाट नदी किनारसम्म ल्याई डुंगामा हालेर नदी पार गराउनु परेको छ ।’’
पुलबाट ट्रयाक्टर पार नहुने र भारतले आफ्नो भूमि भएर ट्रयाक्टर, ट्रक आउजाउ गर्न नदिने भएकाले डुंगामा डुंगा हालेर पार गराउनुको विकल्प नभएको आयोजनाका इन्जिनियर बिकले बताए ।
स्थानीयको सक्रियता
गत वर्षको वर्खा याममा सुस्ताको उत्तर तर्फको भागबाट बाढी बस्तीमा पसेपछि स्थानीयले रातभर जाग्राम बसेर बोरामा बालुवा भरेर बस्ती जोगाएका थिए । वर्खा लाग्नुअघि नै नदी नियन्त्रणको बलियो संरचना तयार नभए बाढीको भेलसँगै सुस्ता बग्ने भन्दै यहाँका स्थानीयले तत्कालिन भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराएपछि संघीय सरकारले बजेट विनियोजन गरेर ठेक्का आब्हान गरी तत्काल काम अघि बढाएको थियो ।
सुस्ता तीन तिरबाट नारायणी नदी र एकतिरबाट भारतले घेरिएको छ । जसले गर्दा नदी बस्तीमा पस्यो भने उद्दारका लागि समेत निक्कै समस्या छ । यहाँ झण्डै तीन सय ५० घरधुरीमा ३ हजार २ सयभन्दा बढी नेपाली बसोबास गर्छन् ।
Facebook Comment