रोटरी क्लब अफ नवलपुर कावासोतीद्वारा व्हीलचियर वितरण

NAWALPUR TIMES

रोटरी क्लब अफ नवलपुर कावासोतीद्वारा व्हीलचियर वितरण

कावासोती । रोटरी क्लब अफ नवलपुर कावासोतीको आयोजनामा आज कावासोती नगरपालिकाभित्रका विभिन्न वडामा शारीरिक रूपमा असक्त व्यक्तिहरुलाई व्हीलचियर वितरण गरिएको छ ।

कावासोती नगरपालिका वडा नं १ निवासी कमल बिकलाई कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु प्रसाद भुसालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा व्हीलचेयर हस्तान्तरण गरिएको हो ।

त्यसैगरी वडा नं १६ निवासी शारीरिक रूपमा असक्त विकास थापा क्षेत्रीलाई निजकै घरमा वडा नं १६ का वडा अध्यक्ष आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा व्हीलचेयर हस्तान्तरण गरिएको थियो ।
यस्तै वडा नं १४ निवासी तुलसा गैरेलाई वडा नं १४ की वडा सदस्य भोजकुमारी महतोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा व्हीलचेयर हस्तान्तरण गरिएको क्लबले जनाएको छ ।

तीनै स्थानमा सम्पन्न कार्यक्रम रोटरी क्लब अफ नवलपुर कावसोतीका अध्यक्ष कृष्ण प्रसाद अर्याललको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै अतिथिहरुले सामाजिक सेवामार्फत आवश्यकतामा रहेका नागरिकहरुको जीवन सहज बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए । उनीहरुले रोटरी क्लबले समुदायमा पुर्‍याउँदै आएको सेवामूलक योगदान प्रशंसनीय रहेको उल्लेख गरे ।

क्लबका अध्यक्ष अर्यालले रोटरीको मूल नारा “स्वार्थ भन्दा माथी सेवा ” लाई आत्मसात गर्दै मानव सेवाभन्दा ठूलो धर्म अरु नभएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिँदै समुदायको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थापक अध्यक्ष दुर्गा रिजाल, पूर्व अध्यक्ष हरि धुंगाना तथा प्रेसिडेन्ट इलेक्ट होमबहादुर विश्वकर्मालगायतको उपस्थिति रहेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology