सरकारी विज्ञापन नीतिविरुद्ध नेपाल पत्रकार महासंघ नवलपुरको ज्ञापनपत्र

सरकारी विज्ञापन नीतिविरुद्ध नेपाल पत्रकार महासंघ नवलपुरको ज्ञापनपत्र

नवलपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपुरले सरकारी विज्ञापन केवल सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णयप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ।

प्रमुख जिल्ला अधिकारी भबेश्वर पाण्डे मार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा उक्त निर्णयले प्रेस स्वतन्त्रता, निजी सञ्चारमाध्यमको अस्तित्व तथा श्रमजीवी पत्रकारको रोजगारीमा गम्भीर असर पर्ने उल्लेख गरिएको छ। महासंघले नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा सरकारले चैत १८ गते गरेको यस्तो निर्णयले झन् समस्या थपिएको जनाएको छ। निजी सञ्चारमाध्यमहरू रेडियो, पत्रपत्रिका, टेलिभिजन तथा अनलाइन माध्यम प्रत्यक्ष मारमा परेको भन्दै यसबाट पत्रकारहरूको पेशागत सुरक्षा समेत संकटमा परेको दाबी गरिएको छ।

ज्ञापनपत्रमा लोकतान्त्रिक व्यवस्थामा सञ्चार क्षेत्रलाई राज्यको चौथो अंगका रूपमा मानिने स्मरण गराउँदै विभेदकारी नीतिले अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र पत्रकारितामाथि प्रहार गरेको उल्लेख छ।

महासंघ नवलपुर शाखाका अध्यक्ष श्रीराम सिग्देल द्रारा हस्ताक्षरित ज्ञापन पत्रमा उक्त निर्णय तत्काल खारेज गर्न, सबै प्रकारका सञ्चारमाध्यमलाई समान व्यवहार गर्न तथा श्रमजीवी पत्रकारको नियमित पारिश्रमिक र सेवा–सुविधा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology