२५ वर्षको भाले गैंडाको करेन्ट लागेर मृत्यु, अनुसन्धानका लागि एक जना नियन्त्रणमा

२५ वर्षको भाले गैंडाको करेन्ट लागेर मृत्यु, अनुसन्धानका लागि एक जना नियन्त्रणमा

कावासोती । नवलपुरको कावासोती-१ को स्याउली टोलमा शुक्रबार मृत फेला परेको गैंडा करेन्ट लागेर मरेको तथ्य फेला परेको छ ।

२५ वर्षको भाले गैंडा मकैबारीमा मृत भेटिए पछि डिभिजन वन कार्यालय नवलपुरले अनुसन्धान अगाडी बढाएको थियो । घटनाको प्रारम्भिक अनुसन्धान बाट करेन्ट लागेर मरेको देखिएको डिभिजन वन नवलपुरका सूचना अधिकारी सुवास अधिकारीले जानकारी दिए ।

अनुसन्धानको क्रममा घटनास्थलबाट करिब २०० मिटर दक्षिणतर्फ लोकाहा खोलाको काँसघारीमा जिआई तारले बेरिएका २७ वटा बाँसका किल्ला लुकाई छिपाई राखिएको अवस्थामा बरामद गरिएको साथै घटनास्थलको उत्तर-पश्चिमतर्फ रहेको घरबाट सिंगल फेजको रिङसहितको करिब १३ मिटर वाइरिङ तार समेत बरामद गरिएको अधिकारीले जानकारी दिए ।

करेन्ट लागेर मरेको गैंडाको खाग खुर सुरक्षित रहेको जनाईएको छ । मृत गैंडालाई चितवन राष्ट्रिय निकुञ्ज बाट खटिएको प्राविधिक टोलीले पोस्टमार्टम गरेपछी डिभिजन वन कार्यालय परिसरमा खाडल खनेर गाडिएको छ ।
यसै बिच घटनाको अनुसन्धानको लागि एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको डिभिजन वनले जनाएको छ । अनुसन्धानका लागि नियन्त्रणमा लिएका व्यक्तिको परिचय गोप्य राखिएको डिभिजन वन कार्यालय नवलपुरले जनाएको छ ।

स्रोतका अनुसार नियन्त्रणमा लिएका व्यक्ति मकैबारी रहेको जग्गाका धनी भिम प्रसाद दर्जी हुन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology