२०५६ यता कक्षा ११ र १२ छाडेका १४ लाख विद्यार्थीलाई एकैपटक मौका परीक्षा

NAWALPUR TIMES

२०५६ यता कक्षा ११ र १२ छाडेका १४ लाख विद्यार्थीलाई एकैपटक मौका परीक्षा

कावासोती । कक्षा ११ र १२ मा २५ वर्षअघि र त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा २३ वर्षअघि भर्ना भएर फेल भएका विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीलाई कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम भर्न सूचित गरेको छ ।

आगामी मंसिर २७ सम्म आवेदन फाराम बुझाउन सकिने बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले २०५६ देखि २०७७ सम्म रजिस्ट्रेसन गरेका विद्यार्थीले परीक्षा आवेदन फाराम भर्न पाउने बताए ।जति विषयमा फेल भएका विद्यार्थी पनि मौका परीक्षामा सहभागी हुन पाउने उनले जनाए । बोर्डका अनुसार कक्षा ११ र १२ मा फेल भएर पढाइ छाडेका विद्यार्थीको संख्या १४ लाख छ । जुन अहिलेको विद्यार्थी संख्या हेर्दा कक्षा १२ को तीन ब्याचभन्दा पनि बढी हुन्छ ।

आवेदन फाराम भर्ने विद्यार्थी संख्याका आधारमा परीक्षा तालिका सार्वजनिक गरिने शर्माले बताए ।अङ्कन प्रणालीमा कुनै विषयमा अनुत्तीर्ण, अनुपस्थित वा अक्षराङ्कन (ग्रेडिङ) पद्धतिमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले अन्तिम एक पटकका लागि परीक्षामा सहभागी हुन पाउने अवसर दिन लागिएको बोर्डले जनाएको छ ।

सम्बन्धित विद्यालय/क्याम्पसले आफ्ना विद्यार्थीहरूको परीक्षा आवेदन फाराम संकलन गरी बोर्डमा बुझाउन आग्रह गरिएको छ । प्रयोगात्मक विषय मात्र बाँकी रहेका विद्यार्थीले पनि सबै मौकामा आवेदन दिन सक्नेछन् । बोर्डले अतिरिक्त विषयमा परीक्षा दिन चाहने परीक्षार्थीले कक्षा ११ र १२ मा बढीमा सय/सय गरी कुल दुई सय पूर्णाङ्कको परीक्षा दिन पाउने व्यवस्था गरेको छ । एक संकायको विद्यार्थीले अर्को संकायका विषयमा समेत परीक्षा दिन पाउने बोर्डले जनाएको छ । पुराना विद्यार्थीको परीक्षा पुरानो पाठ्यक्रमअनुसार नै सञ्चालन हुने र पूर्णाङ्कसमेत साविक बमोजिम नै हुने बोर्डले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology