कावासोती । गोहीको आक्रमणबाट एउटा खुट्टामा गुमाएका नवलपुरको मध्यविन्दु-१५ निवासी पुर्णबहादुर कुमाललाई चितवन राष्ट्रिय निकुञ्जले उपचार खर्च सहित ११ लाख क्षतिपूर्ति प्रदान गरेको छ ।
वि.स २०८० को असोज २८ गते आफ्नो खेतमा काम गरेर फर्किदै गर्दा नजिकैको घोलमा हात खुट्टा धुने क्रममा कुमाललाई गोहीले आक्रमण गरेको थियो । गोहीको आक्रमणबाट घाइते कुमालले उपचारको क्रम एउटा खुट्टा गुमाएका थिए ।
भरतपुरको सेन्टर अस्पतालमा उपचार गराएका कुमाललाई अस्पतालको बिल भरपाईको आधारमा निकुञ्जबाट २०८० को माघ महिनामा उपचार खर्च बापत ६ लाख १३ हजार ३ सय ७८ क्षतिपूर्ति प्रदान गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
उपचारको क्रममा खुट्टा गुमाएका कुमालले अपांग परिचय पत्र बनाएर जंगली जनावरले आक्रमण गरेर अगंभग भए बापत जिविकोपार्जनका लागि निकुञ्जबाट पाउने राहतका लागि निकुञ्जमा निवेदन दिएका थिए । निकुञ्जमा उनको निवेदन परे पछि कागजातका आधारमा कुमाललाई जिविकोपार्जनका लागी थप ५ लाख आर्थिक सहयोग उपलब्ध गराईएको सूचना अधिकारी थापाले बताए ।
निकुञ्जबाट पाएको उपचार खर्चले उपचारमा लागेको ॠण तिरेको बताएका कुमालले जिविकोपार्जनका लागि प्राप्त ५ लाख बाट भैंसी पालन सुरु गर्ने बताए । “एउटा खुटटा गुमाउदा पीडा त छ, हिम्मत हारेको छैन, परिवारको सहयोगमा निकुञ्जबाट प्राप्त सहयोगले भैंसी पालन गर्ने सोच बनाएको छु” कुमालले भने ।
अहिले कुमालको गोठमा एउटा भैंसी छ, निकुञ्जबाट पाएको रकमले व्यवस्थित गोठ बनाएर भैंसी थप्ने योजना कुमालले सुनाए । आफ्नो घर आगनमा वैशाखीको सहारामा हिडने उनी घर बाहिर आवतजावत गर्न व्हिल चियरको प्रयोग गर्छ्न ।
Facebook Comment