कास्कीमा पहिरोमा एकै परिवारका ७ सहित ९ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८१ असार २९ गते ८:४४
कास्कीमा पहिरोमा एकै परिवारका ७ सहित ९ जनाको मृत्यु

कावासोती । अविरल वर्षापछि पहिरो जाँदा पोखरामा एकै परिवारका सातसहित नौजनाको मृत्यु भएको छ । पहिरोमा दुईजना बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुरिँदा एकै परिवारका सातजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

पहिरोमा पुरिँएर कुलबहादुरसहित उनकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र छोरी राधिका परियारको निधन भएको हो ।

गएराति १०ः३० बजेको समयमा परिवारका सबै सदस्य जम्मा भएर बसेको समय पहिरो खसेको बताएको छ । घटनामा दुईजनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र नौ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

११ वर्षीया अनुस्का ओझा बेपत्ता छन् । मादी गाउँपालिका–११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि पहिरोमा परी बेपत्ता भएको रखोजी भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परेका ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक शर्माले पहिरोमा परेर मृत्यु भएका सबैको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जानकारी दिए । पहिरोमा बेपत्ताको खोजी भइरहेको छ । रासस

प्रकाशित : २०८१ असार २९ गते ८:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI