पांग्रेको पहिरो: सधैँको दुःख

NAWALPUR TIMES
प्रकाशित : २०८१ असार २२ गते १३:१८
पांग्रेको पहिरो: सधैँको दुःख
IMG 20240705 WA0005 1

सन्जय भट्टराई, कावासोती । नवलपुरको पहाडी क्षेत्रलाई जोडने फलफुल चोक-बालुवाडाँडा-पोखरी सडकको कुमसोत–पोखरी खण्डमा पर्ने पांगे्रको पहिरोका कारण दैनिक जसो सडक अवरुद्ध हुदाँ यो सडक भएर पहाडी क्षेत्र यात्रा गर्ने यात्रु तथा पहाडी क्षेत्रबाट जिल्ला सदरमुकाम कावासोती आउने स्थानियले सास्ती भोग्दै आएका छन ।

हुप्सेकोट गाँउपालिकाको वडा नं ५ मा पर्ने पांग्रेमा वर्षा सुरु भए सँगै दैनिक जसो पहिरो खस्दा सडक अवरुद्ध हुदै आएको फलफुल चोक-बालुवाडाँडा-पोखरी सडकका अध्यक्ष लालचन श्रेष्ठले बताए । कावासोती देखि कुमसोत सम्म सडकको अवस्था राम्रो भएको भए पनि कुमसोत देखि पोखरी पुग्न निकै सकस हुने गरेको अध्यक्ष श्रेष्ठ बताउँछन । “माथीबाट खसेको पहिरोले आधा भन्दा धेरै सडक नै बगाएको छ । पहिरो हटाउन नसक्दा यातायात मात्रै होईन पैदल यात्रा गर्नेहरुलाई समेत निक्कै सास्ती छ”, उनले भने

पहिरो हटाउन निर्माण कम्पनीले चासो नदिएको स्थानियहरुको गुनासो छ । यहि पहिरोकै कारण अर्खलाबाट जिल्ला सदरमुकाम कावासोती आउन कालीगण्डकी करिडोर हुँदै गैडाकोट भएर आउनु पर्ने बाध्यता रहेको स्थानिय बेलबहादुर आलेले बताए । दैनिक जसो सडक अवरुद्ध हुदाँ सबै भन्दा ठुलो समस्या बिरामी परेकाहरुले भोग्नु परेको छ । पांग्रेको पहिरोको कारण एम्बुलेन्स समेत हिडन सक्ने अवस्था छैन भने दैनिक उपभोग्य सामानहरुको समेत अभाव हुन थालेको बुलिङटार गाउँपालिकाका वडा नं ४ का अध्यक्ष मीनबहादुर आले बताउछन ।

पटक पटक पहिरो पन्छाउने विषयमा स्थानीय तह, सडक डिभिजन कार्यालय र निर्माण कम्पनीलाई आग्रह गर्दा समेत सुनुवाइ नभएको बताउदै अर्खलामा रहेको सेती नाग माध्यमिक विद्यालयका प्रधानाध्यापक खिमबहादुर सुस्लिङले पहिरो पन्छाउने मात्रै नभएर पहिरोको स्थायी समाधान खोज्नु पर्ने बताए । “हरेक वर्ष पाँग्रको पहिरोले समस्या बनाएको छ, बिरामीलाई भरतपुर पुर्‍याउन कोखेटार हुँदै करिडोरको बाटो भएर जान पर्छ, सदरमुकाम जान उस्तै समस्या छ, यस्को स्थायी समाधान खोज्न सम्बन्धित निकायले चासो दिनु पर्छ”, उनले भने ।

सडकको पहिरो हटाउने विषयमा पटक पटक निर्माण कम्पनी सन्तोषी – रौताहा – हरिहरि जेभि सँग कुरा गरे पनि चासो नदिएको फलफुल चोक-बालुवाडाँडा-पोखरी सडकका अध्यक्ष लालचन श्रेष्ठले बताए । यो समस्याको विषयमा सडक डिभिजन भरतपुर र आयोजना हेर्ने ईन्जिनियर सहित सबैलाई जानकारी गराएको भए पनि समस्याको समाधान हुन नसकेको अध्यक्ष श्रेष्ठले गुनासो गरे ।

कुल २० किलोमीटर लामो सडकको १४ किलोमीटर कालोपत्र गर्ने र बाकी कुमसोत देखि पोखरी सम्म ग्रयाबेल हालेर लेबलिङको जिम्मा पाएको निर्माण कम्पनी सन्तोषी – रौताहा – हरिहरि जेभिका सन्चालक सरिता रावत भट्टराईलाई पटक पटक टेलिफोन सम्पर्क गरे पनि सम्पर्कमा आउन नचाहेको श्रेष्ठले बताए । “अहिले वर्षाको समयमा हामीले काम गर्न भनेका होइनौ तर पांग्रेको पहिरो आसपास उपकरण राखेर पहिरो हटाउने काम गर्दिन आग्रह गर्दा समेत ठेकेदारले टेर्दैन”, अध्यक्ष श्रेष्ठले भने ।

२०७४ मा सम्झौता भएर बहुवर्षे योजनाको रुपमा अगाडी बढेको यो सडकको अहिले सम्म ९० प्रतिशत काम सकिएको सडक डिभिजन भरतपुरका ईन्जिनियर हिमांशु कुँवर ले बताए । २० किलोमीटर मध्ये कालोपत्र गर्ने काम सकिएको छ । उनका अनुसार करिब १४ किलोमीटर कालोपत्र सकिएको छ भने बाकी ६ किलोमीटर ग्रयाबल हालेर सम्याउने काम बाकी नै छ । मुख्य समस्या रहेको पांग्रेमा पहिरो जाने कारणले वर्षाको समयमा काम नभएको उनले बताए । ठेकेदार कार्यालयको सम्पर्कमा आएको र पहिरो गएको स्थानको पहिरो तत्काल हटाउन र आगामी दिनमा पहिरो जादा पहिरो हटाउन आवश्यक पर्ने उपकरण तयारी अवस्थामा राख्न आफुहरुले निर्माण कम्पनीलाई भनेको कुंवरले बताए । हालकै सम्झौताबाट पहिरो नियन्त्रणको काम गर्न नसकिने उनले बताए । ‘पांग्रे खण्डमा पहिरोको जोखिम छ, यसको नियन्त्रणका लागि छुट्टै अध्ययन तथा लागत अनुमान गरि काम गर्नुपर्ने हुन्छ, अहिलेको बजेट र सम्झौतामा पहिरो नियन्त्रण छैन”, कुँवरले भने ।

प्रकाशित : २०८१ असार २२ गते १३:१८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI