तिहारमा ४५ करोडको झिलिमिली बत्ती आयात

NAWALPUR TIMES

तिहारमा ४५ करोडको झिलिमिली बत्ती आयात
0382e69348ec4cd7a647deb1d8c5d34d1699618312

विद्युतीय झिलिमिली बत्ती आयात भएअनुसार बजारमा माग नभएको व्यवसायीहरूले बताएका छन् । तिहारलाई उज्यालो पर्वको रुपमा लिइन्छ । विशेषगरी तिहारमा सयपत्री, मखमली, गोदावरी फूल र दियो बत्ती तथा पछिल्लो समय विद्युतीय झिलिमिली बत्तीको प्रयोग गरी तिहारलाई अझ विशेष बनाउने गरिन्छ ।

केही वर्षदेखि तिहारमा सबैभन्दा बढी विद्युतीय बत्तीहरूको प्रयोग गर्ने प्रचलन बढेको छ । तिहार लागेसँगै हरेक पसल तथा घरलाई झिलिमिली बनाउन झिलिमिली बत्तीको प्रयोग गर्ने गरिन्छ । केही वर्ष पहिलासम्म माटोको दियो बालेर तिहारमा झिलिमिली बनाउने प्रचलन थियो । तर देशमा पर्याप्त विद्युत उपलब्ध भएसँगै विद्युतीय बत्तीहरूको प्रयोग गरिन थालिएको छ ।

हरेक वर्ष विद्युतीय व्यवसायीहरूले बजारको मागअनुसार झिलिमिली बत्ती आयात गर्ने गरेका छन् । तिहारमा हरेक वर्ष झिलिमिली मालालगायत बत्तीहरूको माग बढेसँगै आयातमा पनि वृद्धि हुँदै आएको छ । तिहारमा हरेक वर्ष १० प्रतिशतले आयात वृद्धि हुँदै गएको व्यवसायीहरु बताउँछन् ।

तिहारको लागि गत वर्ष ३६ करोड बराबरका विद्युतीय दियो, मालाबत्तीलगायत झिलिमिली बत्तीहरू आयात भएकोमा यो वर्ष १० प्रतिशतले वृद्धि भएर लगभग ४० देखि ४५ करोड रुपैयाँ बराबरको बत्ती आयात भएको विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले बताए । न्युज एजेन्सी नेपालसँग अध्यक्ष देवकोटाले यस वर्षको तिहारका लागि करिब ४५ करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको उल्लेख गरे ।

विशेषगरी तिहारमा लक्ष्मीपूजाको दिनसम्म झिलिमिली बत्तीको व्यापार हुने उनको भनाइ छ । उनले आर्थिक मन्दीका कारण यस वर्षको तिहारमा आयात भएअनुसार झिलिमिली बत्तीको व्यापार धेरै नहुने अवस्था देखिएको बताए । उनले बजारको मागभन्दा बढी झिलिमिली बत्ती आयात भएको भन्दै बजारमा झिलिमिली बत्तीको माग गत वर्षको तुलनामा कमी रहेको बताए ।

“तिहारको लागि ९० प्रतिशत विद्युतीय झिलिमिली बत्ती चीनबाट आउने गरेको छ । केही सामानहरुरू भारतबाट पनि आयात गरिन्छ । चीनमा माला बत्तीमा ६५ सेन्ट हालेर खरिद गर्दा सरकारले एक डलरको हो भनेर भन्सारमा मूल्यांकन गरेका कारण व्यवसायीहरुरूलाई समस्या भएको छ,” उनले भने, “मूल्य वृद्धि भएर आउँदा उपभोक्तालाई पनि मूल्यमा असर परेको अवस्था छ । सरकारले व्यवसायीहरूले जुन मूल्यमा खरिद गरेर ल्याएको छ त्यही मूल्यमा भन्सार मूल्यांकन गर्ने व्यवस्था गर्नुपर्छ ।”

उनले एउटै झिलिमिली बत्तीमा ७ प्रतिशतसम्म मूल्यवृद्धि भएको बताए । भन्सारमा चीनबाट आयात भएका बत्तीहरूको सरकारले मूल्यांकन डलरमा गर्दा व्यवसायी र उपभोक्ता मर्कामा परेको बताए । उनले झिलिमिलि बत्ती विशेषगरी चीन र भारतबाट आयात हुने गरेको जानकारी दिए । उनले ९० प्रतिशत बत्ती चीनबाट र बाँकी भारतबाट आयात हुने गरेको बताए ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology