कावासोती । बिहीबार रातिदेखि परिरहेको अविरल वर्षा सँगै आएको पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । करिडोरअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका–२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा करिडोर भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधनबीच बाटामै अलपत्र परेका छन् । शुक्रबार बिहान ५ बजेदेखि सडक अवरुद्ध बनेको छ । छोटो र आरामदायी यात्राका लागि कालीगण्डकी करिडोर सडकखण्ड भएर धेरैले यात्रा गर्ने सडक बन्द हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ ।
करिडोरको रामपुर पिपलडाँडा हुँदै तानसेन, बुटवल, नारायणगढ लगायतका स्थानमा पुग्ने सवारीसाधन बिचमै रोकिएका छन् । सडकमाथिबाट पहिरो खस्ने क्रम जारी छ । पहिरो हटाउन करिब चारदेखि पाँच घन्टाको समय लाग्ने यात्रामा निस्किएका सञ्चारकर्मी प्रकाश ज्ञवालीले बताए ।
तानसेन नगरपालिका–५ ढुङ्गाखानीमा पहिरो खसेकाले तानसेन रिडी सडकखण्ड पनि अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए ।
सिद्धार्थ राजमार्गअन्तर्गत आर्यभन्ज्याङ–राम्दी सडकखण्ड पनि अवरुद्ध बनेको छ । माथागढी गाउँपालिका–१ धैरेनीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सो सडक अवरुद्ध हुँदा बुटवल–पोखरा चल्ने सवारीसाधन बीचमै लामबद्ध अवस्थामा रोकिएका छन् ।
प्रकाशित : २०८० असार १५ गते १२:१७
Facebook Comment