‘सुस्ता बचाऊ’ अभियन्ता गोपाल गुरुङको निधन

NAWALPUR TIMES

‘सुस्ता बचाऊ’ अभियन्ता गोपाल गुरुङको निधन
thumb 1

कावासोती । ‘सुस्ता बचाऊ’ आन्दोलनका मुख्य अभियन्ता गोपाल गुरुङको निधन भएको छ ।  गत पुस ८ गते घरमै बेहोस भएका गोपाललाई त्यसैदिन भैरहवा मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

मस्तिष्कघात भएका उनको आर्थिक अभावका कारण त्यहीदिन शल्यक्रिया गर्न नसकिएको सुस्ता बचाऊ आन्दोलनका प्रवक्ता रवीन्द्र जयसवालको भनाइ छ । उनले भने, ‘रगत र अपरेशन गर्न पैसा खोज्दाखोज्दै ३ दिन ढिलाभयो । पैसा भैदिएको भए त्यहीदिन अपरेशन हुन्थ्यो ।’

उनको मंगलबार उपचारकै क्रममा अस्पतालमै निधन भएको हो । उनको उपचारमा १० लाख खर्च भैसकेको छ । करिब ६ लाख अस्पतालमा बुझाइएको छ । बाँकी ४ लाख खोजखाज गरेर शव बुझ्ने जयसवालले बताए ।

भारतीय सीमामा रहेको सुस्ताको भूमि जोगाउन उनले २४ वर्षभन्दा बढी भारतिय सुरक्षाकर्मीको ज्यादती सहे । उपचारका क्रममा पैसा अभाव भएपछि भने सुस्तेलीले गोपाल गुरुङ बचाउअभियान सुरु गरेर घरघरै नगद सहयोग मागेका थिए । त्यसबाट करिब १ लाख ९० हजार रुपैयाँ संकलन भएको थियो ।

रकम अभावकै कारण गुरुङको ज्यान गएको स्थानीयको भनाइ छ । ‘उनको अवस्था विपन्न हो । हामीले उनलाई बचाउने अभियान सुरु गरे पनि सरकारले चासो नदिँदा सुविधासम्पन्न अस्पताल लैजान नसक्दा उनको ज्यान गयो,’ अभियानका उपाध्यक्ष आदम खाँ भन्छन्, ‘देशका लागि एक्लै लडेका गोपालको रकम अभावमै ज्यान गयो ।’

उनी ५९वर्षका थिए । २०५५ सालमा नेपाल प्रहरीको हवल्दारबाट अवकाश पाएपछि सुस्तामै घर बनाएर उनले बसोबास थालेका थिए । सुस्ता चौकीमै ड्युटी रहेकै बेला उनले अवकाश पाएका हुन् ।

उनी २०५७ सालमा भारतमा जेलसमेत परेका थिए । उनी सुस्ताको नेपाली भूमि सुस्तावासीले मात्र जोगाउन सक्ने भन्थे । सुस्तावासीलाई एक बनाएर वर्षौंदेखि नेपाली भूमिका रक्षामा खटिएका गुरुङको पैसा अभावमा निधन हनु विडम्बना भएको खाँ बताउँछन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology