‘उत्कृष्ट’ नारा लेख्नेलाई गृह मन्त्रालयले पुरस्कार दिने
NAWALPUR TIMES प्रकाशित : २०७९ जेठ २३ गते ७:५३
ministry of home affairs
नवलपुर । गृह मन्त्रालयले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन)का अवसरमा उपयुक्त नारा संकलन गर्ने भएको छ । ‘उत्कृष्ट’ नारालाई पुरस्कृत समेत गर्नेछ ।
एक सूचनामार्फत मन्त्रालयले मौलिक तथा सन्देशमूलक नारा सिर्जना गरी पठाउन आग्रह गरेको छ । त्यस्तो नारा यही जेठ २५ गतेभित्र मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखाको इमेल ठेगाना (drug@moha.gov.np) मा पठाउन सकिनेछ ।
मन्त्रालयका अनुसार नारा लागुऔषध दुरुपयोग, ओसारपसार, रोकथाम तथा नियन्त्रण गर्न सहयोग पुर्याउने सन्देश दिने खालको हुनुपर्नेछ । नारा बढीमा १० शब्दको र नेपाली भाषामा लेखिएको हुनुपर्नेछ । नाराले दिन खोजेको सन्देशबारे छोटकरीमा व्याख्या गरिएको हुनुपर्नेछ ।
उत्कृष्ट नारा पठाउने पाँचजनालाई पुरस्कारस्वरूप जनही नगद दुई हजार रुपैयाँ बैंक खातामार्फत उपलब्ध गराइनेछ । पुरस्कृत नाराहरू उक्त शाखाले विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूमा प्रयोग गर्ने जनाइएको छ ।
Facebook Comment