कञ्चनपुर — ‘अब म बाँच्दिनँ, बहिनीको ख्याल गर्नू,’ मृत्यु हुनुभन्दा डेढ घण्टाअघि आमाले भनेको यही कुरा सरिता साउदको कानमा गुन्जिरहेको छ । बिहीबार दिउँसो चर्को घाममा सुताइएकी आमा रञ्चुला पानीपानी भन्दै चिच्याइरहेकी थिइन् । सरिता आमालाई पानी दिन नजिक गइन् । तर धामीझाँक्रीले उनलाई रोके । त्यसपछि रञ्चुलाले बाँच्ने आस मारेकी थिइन् ।
रोजगारीका लागि भारत गएका श्रीमान्को १० वर्षअघि मृत्यु भएपछि दुई छोरी र एक छोराको रेखदेख रञ्चुलाले गरिरहेकी थिइन् । सात वर्षअघि छोराको पनि मृत्यु भयो । त्यसपछि रञ्चुलाको परिवार दुई छोरीसहित बैतडीको शिवनाथ गाउँपालिकाबाट हालको वेदकोट–६ मुसेपानीमा बसाइँ सरेकी थिइन् । रञ्चुलाले ज्याला मजदुरी गरेर छोरीहरूलाई पढाउँदै घर खर्च चलाइरहेकी थिइन् । उनी चैत २८ सम्म पनि प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत वेदकोटको बत्छेला धार्मिक क्षेत्रमा पदमार्ग निर्माणको काममा मजदुरी गरिरहेकी थिइन् ।
पेट र टाउको सामान्य दुखाइले छिमेकी कमला साउदको घर जानु नै उनका लागि मृत्युको कारण बन्यो । धामीझाँक्रीको कुटाइबाट रञ्चुलाको मृत्यु भएको स्थानीय र आफन्त बताउँछन् । ‘सुरुमा बाबाले छाडे, अहिले मम्मीले पनि छोडेर गइन्,’ आइतबार दिउँसो महाकाली प्रादेशिक अस्पतालमा भेटिएकी सरिताले भनिन्, ‘धामीझाँक्रीले हामीलाई टुहुरा बनाए, हामी दुई बहिनी अब बेसहारा भयौं, रेखदेख गर्ने कोही छैन ।’
१९ वर्षीया सरिता १२ र १२ वर्षकी नीरा कक्षा ७ मा पढ्छन् । नीराको परीक्षा चलिरहेको छ । शनिबारदेखि उनीहरूकी आमाको शव अस्पतालमै छ । यस्तो अवस्थामा समेत नीराले आइतबार परीक्षा दिइन् । ‘हामीलाई अब कसले पढाउँछ, घर खर्च कहाँबाट आउँछ ? सोच्नै सकेकी छैन,’ सरिताले भनिन् । आमाको मृत्युपछि सरिताका काका पदम साउद र मामा करनसिंह घटाल आएका छन् । उनीहरूले नै अहिले दुवैलाई सम्झाइरहेका छन् ।
काका पदम बैतडीको शिवनाथ गाउँपालिकामा बस्छन् । उनी न कञ्चनपुरबाट सरिता र नीरालाई बैतडी लैजान सक्ने अवस्थामा छन् न विपन्नताका कारण तराई झर्न सक्छन् । ‘दोषीलाई कारबाहीसँगै छोरीहरूको पालनपोषणको पनि व्यवस्था हुनुपर्छ,’ उनले भने । सरिताले तीन दिनदेखि केही खाएकी छैनन् । बिहीबार बिहान आमाको झारफुक भइरहेको कमलाकै घरमा उनले खाना खाएकी थिइन् ।
झारफुकका नाममा धामीझाँक्रीबाट ज्यान लिइएकी ४२ वर्षीया रञ्चुलाको शव महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमै छ । शनिबार अस्पताल पुर्याइएको शवको आइतबार पनि पोस्टमार्टम हुन सकेन । ‘यहाँ डाक्टर छैनन्, भोलि (सोमबार) धनगढीबाट मगाएर पोस्टमार्टम हुन्छ भनेका छन्,’ मृतकका देवर पदमले भने ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकका आफन्तले ढिलो गरी जाहेरी दिएको र अस्पतालमा फरेन्सिक विज्ञ नहुँदा पोस्टमार्टम हुन नसकेको हो । ‘जाहेरी दर्तापछि हामीले पोस्टमार्टमका लागि अस्पताललाई पत्र पठाएका छौं,’ कञ्चनपुरका एसपी श्यामप्रसाद चौधरीले भने, ‘शव पुरानो र संवेदनशील प्रकृतिको भएकाले अस्पतालले फरेन्सिक एक्स्पर्टबाटै पोस्टमार्टम गराउनुपर्ने भनिएको छ ।’ फरेन्सिक विज्ञ धनगढीबाट बोलाइने उनले बताए ।
मृतकका देवर पदमले धामीझाँक्री भीमदत्त–७ का धर्मानन्द भट्ट, भीमदत्त नगरपालिका–१ का नारायण भट्टसँगै वेदकोट–५ की कमला साउद, जानकी घटाल, गौरी साउद, चक्र साउद, कुवेर साउद र जयबहादुर साउदका नाममा ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएका छन् । जयबहादुरबाहेक ७ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । जयबहादुरलाई पनि छिट्टै पक्राउ गरिने डीएसपी चक्रबहादुर शाहले बताए । पक्राउ परेकाहरूको हकमा आइतबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टाउको दुखेपछि रञ्चुला मंगलबार कमलाको घर गएकी थिइन् । उनले त्यहाँ बसेका धामीहरू भीमदत्त–७ हल्दुखालका धर्मानन्द भट्ट र भीमदत्त–१ बाराकुण्डाका नारायणदत्त भट्टलाई देखाएर झारफुक गराइन् । राति थप समस्या भएपछि फेरि उनी कमलाको घर पुगेकी थिइन् । त्यसपछि धामीद्वयले निरन्तर झारफुक गरे । रञ्चुला भने गल्दै गइन् । बिहीबार उनको मृत्यु भएपछि पनि धामीहरूले बचाउने भन्दै झारफुक गरिरहेकामा शनिबार प्रहरीले हस्तक्षेप गरेको थियो ।-ईकान्तिपुरबाट
प्रकाशित : २०७९ वैशाख ५ गते ८:४४
Facebook Comment