एसईई गत वर्षजस्तै मूल्यांकन, कक्षा–१२ को परीक्षा गर्नेबारेमा छलफल

NAWALPUR TIMES

एसईई गत वर्षजस्तै मूल्यांकन, कक्षा–१२ को परीक्षा गर्नेबारेमा छलफल
1621153352218

काठमाडौं । एसईई र कक्षा–१२ को परीक्षा सम्बन्धमा विभिन्न सरोकारवाला निकायसँग छलफल थालिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका महानिर्देशक वैकुण्ठप्रसाद अर्याल संयोजकत्वको कार्यदलले समयमै परीक्षा गराउन बिहीबार भर्चुअल छलफल चलाइएको हो । परीक्षा गराउन सकिने वैकल्पिक मोडेलका बारेमा छलफल गरिएको थियो ।

कक्षा–१० को परीक्षा पुरानै शैलीमा गत वर्षजस्तै गरी मूल्यांकन गर्ने विषय छलफलमा उठेको थियो । तर, यसपटक कक्षा–८ र ९ लाई पनि मूल्यांकनको आधार बनाउने र १० को पढाइ न्यूनतम सिकाइ पुगेको अवस्थामा पढाउने शिक्षकले नै मूल्यांकन गरेर प्रमाणपत्र दिनेबारेमा छलफल भएको नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले जानकारी दिए ।

कक्षा–१२ को हकमा अन्तर्राष्ट्रिय मान्यता चाहिने हुँदा हतार नगरी परीक्षा लिने र साउनको क्यालेन्डर बनाउने विषयमा छलफल भएको उनले बताए ।

स्थिति भयावह रहे प्रश्न इमेलबाट पठाउने, घरमै बसेर लेख्ने, कुनै निश्चित समयमा उत्तर पठाउने र उत्तरपुस्तिका शिक्षकले नै जाँच्नेजस्ता विकल्पमा छलफल चलेको उनले जानकारी दिए । उनले भने, “बोर्डले अन्योल चिर्दै परीक्षाको क्यालेन्डर सार्वजनिक गर्दै हामी सम्भव भए यो विधिबाट, नभए अर्को विधिबाट परीक्षा गराउँदै छौँ भनेर अभिभावकलाई आश्वस्त पार्नुपर्छ ।”

नयाँ संविधान जारी भएपछि विद्यालय सिकाइलाई दुई चरणमा बाँडिएको छ । कक्षा–८ सम्म एउटा र ९ देखि १२ सम्म अर्को तहमा राखिएको छ । यो संरचनाअनुसार कक्षा–१० को राष्ट्रिय परीक्षा खारेज हुनुपर्ने सरोकारवालाको मत छ । तर, कानुन संशोधन नगरी अझै सरकारले एसईईलाई केन्द्रितकृत गरी राष्ट्रिय परीक्षा बनाउनु स्थानीय तहको अधिकार खोसिएको अध्यक्ष भण्डारीको आरोप  छ ।

बोर्डले गएको वैशाख २७ गते सूचना जारी गर्दै अर्को सूचना नआएसम्म कक्षा–१० र कक्षा–१२ को परीक्षा स्थगित गरेको थियो । सोही दिन कार्यदल गठन गरी परीक्षाका वैकल्पिक विधिबारे बोर्डले छलफल चलाउन थालेको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology