बलात्कार घटनामा मिलापत्र गराउने ६ जना पक्राउ

NAWALPUR TIMES

बलात्कार घटनामा मिलापत्र गराउने ६ जना पक्राउ
Morang jajaka arrested

२६ मंसिर, मोरङ । मोरङमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा मिलापत्र गराएको आरोपमा ६ जना पक्राउ परेका छन् ।

घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोगमा धनपालथान गाउँपालिका-५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका-१ बस्ने ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका-८ बस्ने ५३ वर्षीय मथालु खवास पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार २०७७ भदौ २४ गते साँझ धनपालथान गाउँपालिका-५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका-८ बस्ने ३२ वर्षीय सुरेशकुमार खवासले ती युवतीलाई जबरजस्ती करणी गरी फरार भएका थिए ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले सुरेशलाई मंसिर १९ गते नै रंगेली नगरपालिका-७ रंगेली बजारबाट पक्राउ गरेको थियो ।

थप अनुसन्धानको क्रममा गाउँमै पीडित पक्षलाई उक्त रकम दिने प्रलोभनमा पारी मिलापत्र गराएको खुल्न आएपश्चात उनीहरुलाई मिलापत्र कागजसहित बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology