निर्वाचनपछि नेपालको पूँजीबजारमा दुर्लभ सकारात्मक परिवर्तनको संकेत देखिएको थियो। Gen Z–द्वारा नेतृत्व गरिएको आन्दोलनपछि बनेको स्थिर सरकार—झण्डै दुई‑तिहाइ बहुमतसहित—ले देश अनिश्चितताबाट निरन्तरतर्फ जाँदैछ भन्ने विश्वास आम लगानीकर्तामा जगाएको थियो। वर्षौँदेखि निरन्तर सरकार परिवर्तन, नीतिगत अस्थिरता र नेतृत्वको अनिश्चितताले नेपालको शेयर बजारमा दीर्घकालीन लगानी कठिन बनाएको थियो। त्यसमा पनि बजार हेरफेर, इनसाइडर ट्रेडिङ, र प्रभावशाली समूहद्वारा “cornering” जस्ता आरोपले साना तथा नयाँ लगानीकर्ताको विश्वास कमजोर बनाएको थियो। यस्तो पृष्ठभूमिमा जब स्थिर सरकार आउने संकेत देखियो, लगानीकर्ताले कडाइका साथ नियम लागू हुने, पारदर्शिता बढ्ने र नियामक निकाय सुदृढ हुने अपेक्षा गरेका थिए। यही विश्वासका कारण संस्थागतदेखि खुद्रा लगानीकर्ता सबै सक्रिय बने, र चुनावपछि केही दिनमै NEPSE मा मूल्य र कारोबार दुवै तीव्र गतिमा बढे।
तर यो उत्साह धेरै टिकेन। स्थिर सरकार गठनसँगै बजारमा अनिश्चितता बढ्न थाल्यो—विशेषगरी नियामक निकायहरूले बजारमा भएको भनिएका अनियमितता र हेरफेरविरुद्ध कडा कदम चाल्न थालेपछि। बजार अनुमान गरिएको भन्दा विपरीत दिशातर्फ हिँड्न थालेको छ, र यसको दुई प्रमुख कारण देखिन्छन्।
पहिलो, ठूलो लगानी गर्ने व्यक्तिहरूमाथि भइरहेको सरकारी छानबिनले बजारमा मनोवैज्ञानिक त्रास बढाएको छ। लामो समयदेखि शंकास्पद कारोबार र मनी‑लन्डरिङसम्बन्धी चर्चामा रहेका विवादित व्यवसायी दीपक भट्टलगायत अन्य ठूला खेलाडीहरूको पक्राउले बजारको मनोविज्ञान रातारात बदलिएको छ। “ठूला खेलाडी समातिएपछि शेयर अझै सस्तो हुन्छ” भन्ने धारणा फैलिँदै गएपछि धेरै लगानीकर्ता पर्ख‑र‑हेरको अवस्थामा पुगे, जसले बिक्री चाप बढायो। नेपाल रिइन्स्योरेन्स कम्पनी (NRIC), हिमालयन रिइन्स्योरेन्स (HRL) लगायतका उच्च बजार‑पूँजीकरण भएका सिक्रिप्टहरूमा अस्वाभाविक कारोबार भएको रिपोर्ट सार्वजनिक भएपछि सुरु भएको गिरावटले NEPSE सूचकांकलाई तीव्र रूपमा तल धकेल्यो। अफवाह आधिकारिक सूचनाभन्दा छिटो फैलिने हाम्रो बजार संरचनामा डरले बजारलाई झनै तल धकेल्यो, र केही सिक्रिप्टमा सुरु भएको गिरावट अन्ततः सूचकांक‑व्यापी गिरावटमा परिणत भयो।
दोस्रो, नियामक निकायमा नेतृत्वको अभाव देखिन्छ। परिवर्तित सरकारसँगै धितोपत्र बोर्ड (सेबोन), NCHL र स्टक एक्सचेन्ज (नेप्से) जस्ता संस्थाहरूका प्रमुखहरूको बहिर्गमनपछि यी निकायहरू नेतृत्वविहीन बनेका छन्। यसले नीतिगत दिशानिर्देश, निगरानी, तथा बजार सुधारका निर्णयहरू ढिलो बनाएको छ। यी संस्थाहरूमा तत्काल पदपूर्ति हुनु आवश्यक छ, र आउने नेतृत्वले समग्र अर्थतन्त्रसँगै पूँजीबजारको संरचना, जोखिम र सम्भावना स्पष्ट रूपमा बुझ्ने क्षमता राख्नुपर्छ। साथै, विदेशी ऋणमा मात्र निर्भर नहुई नेपाली जनताकै छरिएको पुँजीलाई उत्पादक क्षेत्रमा परिचालन गर्न बन्ड/डिबेन्चर बजार सक्रिय बनाउने, बजारलाई आधुनिक बनाउने—जस्तै नियमनसहित इन्ट्राडे कारोबार, सर्ट‑सेलिङ, सेक्युरिटिज् लेन्डिङ–बोरोइङ, तथा डेरिभेटिभ्स् जस्ता औजार—बारे स्पष्ट रोडम्याप दिन सक्ने नेतृत्व अत्यावश्यक छ।
यस्तै, धितोपत्र कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८२ मा आएको १५% घटबढ सीमा (circuit limit) ले साना तथा नयाँ लगानीकर्तामा थप जोखिम बढाएको देखिन्छ। यो निर्णय अलि अपरिपक्व र हतारमा ल्याइएको जस्तो देखिन्छ, जसले बजारमा अनावश्यक अस्थिरता थपेको छ।
यी सबै कारणले आम लगानीकर्ता पर्ख‑र‑हेरको अवस्थामा छन्। यता बैंकको ब्याजदर सस्तो छ, तर बजार अपेक्षित रूपमा चलेको छैन। ब्याजदर कम भए पनि सूचकांक निरन्तर घटिरहँदा लगानीकर्ताले बैंकबाट मार्जिन कलको दबाब खेपिरहेका छन्—एकातिर बैंकलाई पैसा बुझाउनुपर्ने, अर्कोतिर बजार झनै तल झर्ने डर। यस्तो त्रासमा सस्तो ब्याजले मात्र बजार चलायमान हुँदैन भन्ने बुझाइ बलियो बन्दै गएको छ। अहिले पैसा हुने र होल्ड गर्न सक्ने सीमित अनुभवी लगानीकर्ताले मात्र बजारबाट सस्तोमा शेयर उठाइरहेका छन्।
यद्यपि, लगानीकर्ता आफैं पनि अध्ययनशील हुनु अत्यावश्यक छ। विशेषगरी ऋण लिएर लगानी गर्दा सम्भावित प्रतिफल (yield) ले बैंकको ब्याज र जोखिम व्यवस्थापन धान्न सक्छ कि सक्दैन भन्ने विश्लेषण गरेर मात्र प्रवेश गर्नु उपयुक्त हुन्छ।
तर यो गिरावट केही समय “sideways” रहने सम्भावना छ। सरकारको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएपछि स्पष्टता बढ्नेछ, र असार मसान्तपछि धेरै कम्पनीहरूले लाभांशसम्बन्धी निर्णय/घोषणा गर्न थालेपछि बजारमा पुनः लय फर्कने अपेक्षा गर्न सकिन्छ। यति मात्र होइन, ठूला तथा दीर्घकालीन लगानीकर्ताहरू (big investors) ले पनि प्रायः यस्तै चरणलाई accumulation phase का रूपमा हेर्ने गर्छन्—जहाँ उनीहरू बजारको शान्त, कम-हल्ला भएको समयमै गुणस्तरीय कम्पनीहरू बिस्तारै संकलन गर्छन्।
यही कारणले बजार लामो समयसम्म तल धकेलिन नदिने “strong hands” को उपस्थिति अझै बलियो देखिन्छ। उनीहरूको व्यवहारले एउटा कुरा स्पष्ट गर्छ—बजारको वास्तविक दिशा प्रायः हल्लाले होइन, गहिरो पूँजी र धैर्यले निर्धारण गर्छ।
(लेखक लगानी क्षेत्रसँग सम्बन्धित संघ–संस्थामा संलग्न रही पूँजी बजारसम्बन्धी अध्ययन र विश्लेषणमा क्रियाशील छन्।)
Facebook Comment