कावासोती । नवलपुरको प्राकृतिक चिकित्सालयमा विश्वका विभिन्न अस्पतालमा उपचार गराएर निको नभई थाकेका बिरामीको भिड लाग्न थालेको छ ।
काठमाडौँका ६५ वर्षीय कृष्णराज तिवारी अमेरिकाको टेक्सासमा हृदयाघात भएर तीन वर्षसम्म थला पर्नुभयो । उहाँले छ महिना अस्पतालमै बिताउनुभयो । नवलपरासीमा एक महिना उपचार गरेर निको भई घर हिँड्नै थाल्नु भएका तिवारीले भन्नुभयो, “ह्विलचेयरमा आएको थिए, तीन/चार दिनमै हिँड्न सक्ने भएँ, मैले कल्पना पनि गरेको थिइन, मेरो अवस्थामा यसरी चामत्कारिक सुधार हुन्छ भनेर ।”
अमेरिकामा हुँदा प्राकृतिक चिकित्साबारे सुनेको र उपचारका लागि काठमाडौँ आएर चार दिनमै रजहर आएको उहाँकी श्रीमती शारदा तिवारीले बताउनुभयो । शारदाले भन्नुभयो, “यहाँ ल्याएपछि छोटो समयमै नसोचेको सुधार भयो, हामी धेरै खुसी छौँ ।”
लामो समयदेखि अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी ९० किलो वजन भएकी सङ्गीता उप्रेतीलाई कोलेस्ट्रोल अत्यधिक बढेपछि चिकित्सकले कुनै पनि बेला हृदयाघात, बे्रेन ह्याम्रेज वा स्ट्रोक हुन सक्ने चेतावनी दिएका थिए । त्यसमाथि पिनासको समस्या थियो । उहाँ उपचारकै लागि नेपाल आएर प्राकृतिक चिकित्सालयमा भर्ना हुनुभयो । उहाँले भन्नुभयो, “कोलेस्ट्रोल बढेर ३२० पुगेको थियो, म अति नै आत्तिएकी थिएँ, यहाँ आएर उपचार सुरु गरेको नौ दिनमै कोलेस्ट्रोल घटेर २७० पुग्यो ।”
प्राकृतिक चिकित्सा विज्ञानमा आधारित रहेर बिनाऔषधी माटो, पानी, हावा, अग्नि र जडीबुटी तथा वैज्ञानिक मालिस अकुपञ्चर, फिजियोथेरापी, योग र ध्यान पद्धतिद्वारा उपचार गर्नु यहाँको विशेषता हो ।‘रोग अनेक, उपचार एक तथा आहार नै औषधी, औषधी नै आहार’ भन्ने मूल मन्त्रका साथ २०६८ सालमा स्थापित यो चिकित्सालय अहिले देशकै नमुना बनेको चिकित्सालयका महाप्रबन्धक हरि सापकोटाले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय विदेशमा उपचार गराएर निको नभएकाको यहाँ भिड लाग्ने गरेको छ । अहिले अमेरिका, अस्ट्रेलिया, बेलायत, थाइल्यान्ड, ब्राजिललगायत देशका नागरिक उपचारका लागि आएको सापकोटाले बताउनुभयो ।
Facebook Comment