सेवा सुधार र नगरिकमैत्री सेवा दिन प्रहरी महानिरीक्षक कार्कीको जोड

NAWALPUR TIMES

सेवा सुधार र नगरिकमैत्री सेवा दिन प्रहरी महानिरीक्षक कार्कीको जोड

नवलपुर । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सेवा प्रवाहलाई प्रभावकारी, छरितो र नागरिकमैत्री बनाउन जोड दिँदै आधुनिक प्रविधिको प्रयोग अपरिहार्य भएको बताएका छन्।

नवलपुरकाे कावासाेतीमा शनिबार नवनिर्मित जिल्ला ट्राफिक प्रहरी कार्यालय भवनकाे उद्घाटन समारोहमा बोल्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नवनिर्मित ट्राफिक भवनले सेवा प्रवाहमा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गर्दै भवन निर्माण कार्य निर्धारित समयमै सम्पन्न हुनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै निर्माण व्यवसायी, प्राविधिक टोली, स्थानीय तह तथा सरोकारवाला सबैप्रति आभार व्यक्त गरे

उनले अब ध्यान केवल भौतिक संरचना निर्माणमै सीमित नराखी त्यसबाट प्रदान हुने सेवा कति प्रभावकारी, छरितो नागरिकमैत्री हुन्छ भन्नेमा केन्द्रित हुनुपर्ने बताए । “ट्राफिक व्यवस्थापन आजको सन्दर्भमा अत्यन्त चुनौतीपूर्ण क्षेत्र बनेको छ,” उनले भने , “यसलाई व्यवस्थित बनाउन आधुनिक प्रविधिको प्रयोग अपरिहार्य छ।”

कार्कीले ट्राफिक प्रहरीलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिँदै सिसिटिभी निगरानी प्रणाली, डिजिटल कारबाही, ट्राफिक सचेतना कार्यक्रम तथा स्मार्ट ट्राफिक व्यवस्थापन प्रणाली विस्तार गर्नुपर्ने आवश्यकतामा जाेड दिए । उनले सेवा प्रवाहमा प्रत्यक्ष सुधार देखिने गरी काम गर्न निर्देशन दिँदै अनुशासन, पारदर्शिता र व्यावसायिकतालाई प्राथमिकतामा राख्न आग्रह गरे

उनका अनुसार सडक सुरक्षा केवल ट्राफिक प्रहरीको जिम्मेवारी मात्र नभई सबै सरोकारवालाको साझा दायित्व हो। स्थानीय सरकार, सम्बन्धित निकाय र सर्वसाधारणबीच सहकार्य बिना प्रभावकारी ट्राफिक व्यवस्थापन सम्भव नहुने उनकाे भनाइ थियो।

महानिरिक्षक कार्काीले नवनिर्मित संरचनाले नवलपुरमा ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन महत्त्वपूर्ण टेवा पुग्ने विश्वास समेत व्यक्त गरेका थिए ।

गण्डकी प्रदेश सरकारको सहयोगमा करिब ३ करोड २ लाख १२ हजार ६ सय ७६ रूपैयाकाे लागतमा निर्माण गरिएको भवन २०८१ सालमा शिलान्यास गरिएको थियो। आधुनिक संरचनामा तयार पारिएको भवनमा १८ वटा सुविधा सम्पन्न कोठाहरू रहेका छन्, जसले ट्राफिक व्यवस्थापन तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

जिल्ला विभाजनपछि जिल्ला ट्राफिक कार्यालय कावासोतीमा भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो। पर्याप्त भौतिक पूर्वाधारको अभावका कारण सेवा प्रवाहमा विभिन्न चुनौतीहरू देखिँदै आएका थिए।

अब भने आफ्नै भवनबाट सेवा सुरु भएपछि सेवाग्राहीले सहज, छरितो र व्यवस्थित सेवा पाउने विश्वास लिइएको छ। नयाँ भवन सञ्चालनमा आएसँगै ट्राफिक नियम कार्यान्वयन, सवारी व्यवस्थापन तथा जनचेतनामूलक कार्यक्रमहरू अझ प्रभावकारी रूपमा अघि बढ्ने जिल्ला ट्राफिक कार्यालयले जनाएकाे छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology