असुरक्षित बन्दै नवलपुरका सडक

असुरक्षित बन्दै नवलपुरका सडक

कावासोती । नारायणघाट–बुटबल सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सधै सकस हुने दाउन्ने पूर्वको भाग पनि एकतर्फी ढलानले छोएको छ । सडक आयोजनाले दिएको जानकारी अनुसार अवको केही दिनमा दाउन्ने पश्चिमको भाग पनि एकतर्फी ढलानले जोडिने छ भने एक महिना भित्रै नारायणघाटदेखि बुटबलसम्मको एक सय १३.५३ किलोमिटर दुबै तर्फ ढनाल र कालोपत्र सम्पन्न हुनेछ ।

तर सडक विस्तार भएसँगै ट्राफिक प्रहरीका लागि टाउको दुखाईको विषय बनेको छ दुर्घटना । पछिल्लो समय यो सडकमा दुर्घटना नभएको दिन सायदै होला । ७० किमि ४ लेनमा स्तरोन्नती, २९ किमीमा ४ लेनसहित थप ६÷६ मिटरको सर्भिस ट्याक र दाउन्ने पहाड खण्डमा १४ किमि ३ लेनमा सडक बिस्तारको काम भएसँगै अत्याधिक गतिका कारण दुर्घटना बढिरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख, प्रहरी निरीक्षक कुशलकुमार बर्तौलाका अनुसार सडक दुर्घटनामा परि नवलपुरमा वार्षिक ४५ जनाको मृत्यु हुने गरेकोमा सडक विस्तारपछि चाल आर्थिक वर्षको चैत्र महिनासम्म ५० जनाले ज्यान गुमाई सकेका छन् भने ९७ जना घाइते भएका छन् ।

चालकको लापरवाही, तिब्र गति, सडक प्रयोगकर्तामा ट्राफिक शिक्षा र सचेतनाको कमी लगायत कारणले यो क्षेत्रमा सडक दुर्घटनाको जोखिम बढेको गण्डकी प्रदेशका ट्राफिक प्रहरी कार्यालय प्रमुख, प्रहरी उपरीक्षक दान बहादुर थापाको भनाइ छ । जसका कारण विगत वर्षहरुभन्दा आगामी दिनमा मृत्यु दर बढ्न सक्ने आँकलन गरिएको उनको भनाइ छ ।

थापाका अनुसार तीन वर्षको तथ्यांक केलाउँदा नेपालभर वार्षिक दुई हजार चार सयजनाको मृत्यु र ३२ हजार घाइते हुने गरेका छन् । दुर्घटनामा १५ देखि ३० वर्षका र महिलाभन्दा पुरुष बढी दुर्घटनामा पर्ने गरेको तथ्यांकले देखाएको छ ।

६० देखि ८० प्रतिशत दुर्घटना, तिब्र गति, मादक पदार्थ, लागु पदार्थ सेवन, मोवाइल फोनको प्रयोग, हेलमेट तथा सिट बेल्ट प्रयोग नगर्ने, क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने जस्ता मानवीय कारणले हुने गरेको प्रहरी उपरीक्षक थापाको भनाइ छ । त्यसबाहेक यान्त्रीक, सडक पूर्वाधार र प्राकृतिक कारणले पनि सडक दुर्घटना निम्त्याउने गरेको छ ।

सन् २०१६ को संयुक्त राष्ट्र संघीय दिगो विकास लक्ष्य कार्यक्रमले सडक दुर्घटनाबाट हुने जनधनको क्षतिलाई सन् २०३० सम्ममा ५० प्रतिशतले घटाउने उद्देश्य राखेको छ । तर बढिरहेको सडक दुर्घटनाले चुनौती थपेको नेपाल प्रहरीका प्रहरी महानीरिक्षक दान बहादुर कार्कीको भनाइ छ । सबै सामुहिक प्रयास र सतर्कताले मात्र यो उद्देश्य पुरा गर्न सकिने कार्कीले बताए ।

धेरैजसनो दुर्घटना तिब्र गति र चालकको लापरवाहीले हुने गरेको भन्दै प्रहरी महानीरिक्षक कार्कीले ट्राफिक प्रहरीलाई प्रविधिले सुसज्जित बनाउनु पर्ने बताउ । उनले सवारी चालकहरुलाई लाइसेन्स लिन हतारो भए पनि सिक्न हतारो नहुने गरेको भन्दै आफैले आफैप्रति, परिवार र समाजप्रति खेलवाड नगर्न सबैसित आग्रह गरे ।

गण्डकी प्रदेशका ट्राफिक प्रहरी कार्यालय प्रमुख, प्रहरी उपरीक्षक दान बहादुर थापाका अनुसार गण्डकी प्रदेशमा मात्र वार्षिक एक सय ८० जनाको मृत्यु र सात सय जना घाइते हुने गरेका छन् । त्यसैले गण्डकी प्रदेश सरकारले पनि सडक दुर्घटनाको विषयलाई गम्भीरतापूर्वक लिएको र न्यूनिकरणको प्रयास गरिरहेको बताउँछन् मुख्यमन्त्री कार्यालयका सचिव कृष्णप्रसाद लम्साल ।

‘‘प्रदेश सरकारले मलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रथम मस्यौदा तयार गर्ने जिम्मेवारी दिएको छ, उक्त मस्यौदामा सडक सुरक्षाको कुरालाई सम्बोधन गर्ने प्रयास गरेको छु, सरकारले विषेश निर्णय गर्ला,’’ सचिव लम्सालले भने ।

उनले प्रदेश सरकारले आगामी आवमा सडक सुरक्षा व्यवस्थापनलाई गम्भीर रुपमा लिएर ट्राफिक प्रहरीको क्षमता तथा दक्षता अभिबृद्धि तथा प्रविधिमा सहयोग गर्न विशेष कार्यक्रम ल्याइने प्रतिवद्धता जनाए ।

गति प्रतिघण्टा ८० किमिसम्म
यो सडकमा प्रतिघण्टा ४० देखि ८० किलोमिटरको गति तोकिएको छ । निर्माण सम्पन्न भएको स्थानमा यो गति तोकिएको हो । नारायणघाट–बुटबल सडक आयोजना निर्देशनालयका प्रमुख इन्जिनियर चूडाराज ढकालका अनुसार सिधा र समथर स्थानमा ‘स्पिड लिमिट’ प्रतिघण्टा ८० र बजार क्षेत्र तथा राजमार्ग वारपार गर्ने (क्रसिङ रहेको) स्थानमा प्रतिघण्टा ६० किमि गति कायम गरिएको छ ।

दुम्कीबास र बर्दघाटको बीचमा पर्ने करिब १४ किलोमिटर खण्ड दाउन्नेको उकालोमा भने ४० किमि प्रतिघण्टाभन्दा बढीमा कुदाउन नपाइने नियम राखिएको छ । सोहीअनुसार प्रतिघण्टा ८०, ६० र ४० को गतिमा गाडी चलाउन पाइने संकेत चिह्नहरू ठाउँठाउँमा राख्न थालिएको छ । त्यसका लागि राजमार्गका दुवै किनारमा पहेंलो र बीचभागमा सेतो चिह्न (धर्सा) कोर्ने काम भइरहेको छ ।

यो सडक पूर्वदेखि पश्चिमसम्म यात्रा गर्ने प्रमुख मार्ग भएकाले सवारी साधनको अत्याधिक चाप हुने गरेको छ । विस्तार गरेर फराकिलो भएसँगै तिब्र गति, लेन अनुशासनको वेवास्ता, जथाभावि ओभरटेक, सवारी साधनमा इन्जिनको खरावी जस्ता कारणले दुर्घटना बढिरहेका प्रहरीको भनाइ छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology