आशिष रेग्मी/कावासोती । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा तर्फको निर्वाचनका लागि गत असोज २३ गते मनोनयन भए सँगै राजनीतिक माहोल तातेको छ । केही पुरानै र केही नयाँ अनुहारहरु मत माग्दै मतदाताको घर दैलोमा लाग्न सुरु गरेका छ्न । राजनीतिक दलका कार्यकर्ता भेटघाट, बैठक, अन्तरक्रिया, भेलाहरु बाक्लो रुपमा जिल्लामा सुरु भएको छ ।
२ प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको नवलपुरको क्षेत्र नं १ मा कांग्रेसबाट तीन पटक निर्वाचन जितेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर शशांक कोइराला चौथो पटकका लागि मैदानमा छ्न भने नेकपा एमालेले साबिक नवलपरासीको क्षेत्र नं ३ बाट २०७० को संविधान सभामा निर्वाचन जितेका केन्द्रिय सदस्य कृष्ण पौडेललाई उम्मेदवार बनाएको छ ।
गत २०७४ को आम निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका भविश्वर पराजुलीलाई नेपाली कांग्रेसका डा. शशांक कोइरालाले ४ हजार २४ मतान्तरले पराजित गरेका थिए । नेपाली कांग्रेसका डा. शशांक कोइरालाले ४० हजार ६ सय २० मत पाउँदा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका भविश्वर पराजुलीले ३६५९६ मत पाएका थिए ।
२०७४ मा नेकपा एमाले , नेकपा माओवादी केन्द्र सहित बाम गठबन्धन बाट निर्वाचन गएका वामदलहरु अहिले भने एकै ठाउँमा छैनन । २०७९ को निर्वाचन सम्म आईपुग्दा २०७४ मा एक्लै चुनाव लडेको नेपाली कांग्रेस यति बेला भने नेकपा माओवादी केन्द्र र नेकपा एमाले फुटेर बनेको नयाँ नेकपा एकीकृत समाजवादी सहितको गठबन्धन बनाएर चुनावमा होमिएको छ ।
२०७४ को सहयात्री दल नेकपा माओवादी केन्द्र र आफ्नै पार्टी फुटेर नयाँ गठन भएको नेकपा एकीकृत समाजवादी सहित नेपाली कांग्रेसको गठबन्धन बनेको हुँदा यो निर्वाचनमा भने एमाले उम्मेदवार पौडेललाई त्यति सजिलो भने छैन ।
२०४८ देखि निरन्तर यस क्षेत्रमा निर्वाचन जित्दै आएको नेपाली कांग्रेस यस पटक पनि आफ्नो विरासतलाई जोगाएर डाक्टर कोइरालालाई चौथो पटक संसद पठाउने तयारीमा छ । यद्यपि स्थानीय तहको निर्वाचनमा क्षेत्र नं १ मा पर्ने ४ स्थानीय तह मध्य गैंडाकोट बाहेक अन्य पालिका गुमाएको कांग्रेस स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतमा भने अगाडि देखिन्छ यसमा माओवादीको मत जोडिदा कोइरालालाई थप सहज हुने देखिन्छ ।
चौथो पटक यहि क्षेत्रबाट मैदानमा उत्रिएका कोइरालाले मनोनयनकै दिन आफू प्रधानमन्त्री पदको दाबेदार भएको बताउदै मतदातालाई रिझाउन सुरु गरेका छ्न । आफुले पटक पटक वाचा गर्दै आएका ट्रमा सेन्टर, रंगशाला लगाएताका महत्वाकांक्षी योजनाहरु चालू आवको सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेटिएको भन्दै कोइरालाले मत माग्न सुरु गरेका छ्न । देश भरमै कांग्रेसको बलियो क्षेत्र मध्यको एक मानिएको यो क्षेत्रमा २०४८ देखि निरन्तर कांग्रेसले यो क्षेत्रमा निर्वाचन जित्दै आएको छ । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी सहित केही स्वतन्त्र उम्मेदवारहरुले पनि एक्लाएक्लै उम्मेदवारी दिएकाले कांग्रेसमा हेविवेट मानिएका कोइरालालाई रोक्न भने यो क्षेत्रमा एमालेलाई भने जस्तो सहज भने देखिदैन
Facebook Comment