नवलपुरमा ट्राफिक कार्वाहीबाट १ करोड बढि राजस्व, सडक दुर्घटनामा २१ जनाको मुत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ १५ गते १४:५६
नवलपुरमा ट्राफिक कार्वाहीबाट १ करोड बढि राजस्व, सडक दुर्घटनामा २१ जनाको मुत्यु
police 11672822037

कावासोती । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई गरिएको कारबाहीबाट चालु आर्थीक वर्षको ६ महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ भने विभिन्न दुर्घटनामा २१ जनाले ज्यान गुमाएका छन ।

आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई गरिएको कारबाहीमा ट्राफिक प्रहरीले एक करोड ६ लाख २२ हजार ५सय रुपिया राजस्व संकलन गरेको हो ।

जिल्लामा ट्राफिक नियमको उल्लंघन गर्ने सवारी साधनमध्ये सबैभन्दा बढी ट्रक र दोस्रो नम्बरमा मोटरसाइकल रहेका छन । विसं २०८० साउन १ देखि २०८० पुस मसान्त सम्म ६ महिनाको अवधीमा १२ हजार ८ सय ४७ सवारीसाधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक अच्युतराज आर्चायले बताए ।

यसै बीच ६ महिनाको अवधिमा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउने २ हजार ३ सय २३ जना चालकलाई कार्वाही गरेको छ । मापसे गरेर सवारी चलाउनेलाई गरिएको कार्वाहीबाट २४ लाख ३० हजार जरिवान स्वरुप राजस्व संकलन भएको हो । त्यसै गरि जिल्लामा चालु आर्थीक वर्षको ६ महिनामा ५२ वटा सवारी साधन दुर्घटना भएका छन । ट्राफिक प्रहरीका अनुसार ६ महिनाको अवधिमा भएका ५२ वटा दुर्घटनामा २१ जनाले ज्यान गुमाएका थिए भने ६७ जना घाइते भएका छन ।

यसै बीच नवलपुर ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टिभ स्टिकर टाँस्ने एक महिने अभियान सम्पन्न गरेको छ । चिसो मौसम सुरु भएसँगै बढ्दो हुस्सु र रातिको बेला भिजिबिलिटी कम भएकाले सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले रिफ्लेक्टिभ स्टिकर टाँस्ने अभियान सञ्चालन गरेको जनाएको छ ।

सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले ट्रिपर, लामो तथा छोटो दूरीका सवारी साधन, ट्याक्टर, अटो रिक्सा, साइकल, ठेलागाडामा रिफ्लेक्टिभ स्टिकर टाँस गरेको थियो । विभिन्न स्थानमा ब्याक लाइट नहुने सवारीसाधनको पछाडिको भागमा टल्किने रिफ्लेक्टिभ स्टिकर टाँसेका हुन् ।

अभियानमा दुई हजार ४ सय ६९ रिफ्लेक्टिभ स्टिकर टाँस गरिएको छ । जसमध्ये टिप्पर २ सय ६४, ट्रक २ सय ६७, बस १ सय १८, जिपकार १ सय३ ७, मोटरसाइकल १ सय २३ र १५ विद्यालयका विद्यार्थीले चढ्ने ९ सय ४८ साइकलसहित अन्यमा १ हजार १ सय ३० मा रिफ्लेक्टिभ स्टिकर टाँस गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : २०८० माघ १५ गते १४:५६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI