कावासोतीको कालिका माविमा चुनावी प्रक्रियाद्धारा समिति गठन

NAWALPUR TIMES

कावासोतीको कालिका माविमा चुनावी प्रक्रियाद्धारा समिति गठन
received 1168869560460670

यामु कुमाल
३० वैशाख, नवलपुर ।
नवलपुरको कालिका माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न समितिहरु निर्वाचन प्रक्रिया मार्फत गठन गरिएको छ । जिल्लाको कावासोती नगरपालिका ५ मा रहेको उक्त विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गतका विभिन्न समितिमा एउटै पदका लागि आकांक्षीहरु धेरै भएपछि समिति गठन प्रक्रिया निर्वाचनको माध्यमबाट टुंग्याइएको विद्यालय प्रशासनले जनाएको छ ।

शनिबार भएको निर्वाचनमा युवा रेडक्रस समितिको अध्यक्षमा कक्षा ९ का विद्यार्थी खुम बहादुर कानुङ मगर एक सय मत प्राप्त गर्दै विजय भएका छन् । यस्तै बाल क्लबको अध्यक्षमा कक्षा ८ का सृजन पाठक, बाल भित्तेपत्रिका निर्माण समितिका संयोजकमा कक्षा ९ का राजु कुमाल, त्यसैगरी स्वयंसेवक संयोजकमा कक्षा ९ का मन बहादुर कानुङ बिजयी भएका छन् । शनिबार भएको निर्वाचनमा विजयी सबैलाई आइतबार बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको प्रधानाध्यपक लेखराज पोख्रेलले जानकारी दिनुभयो ।

विद्यालयमा रहेको युवा रेडक्रस समिति, बाल क्लब, बाल भित्तेपत्रिका समिति तथा स्वयंसेवक समितिका अध्यक्ष तथा संयोजक पदमा धेरै जनाले आकांक्षा देखाएपछि निर्वाचन नै गर्नु परेको विद्यालयका सूचना अधिकारी सुरज कुमार भुजेलले बताउनु भयो । निर्वाचन प्रयोजनका लागि कक्षा ४ देखि १० सम्मका २२५ जना विद्यार्थीहरु मतदाता रहेका थिए। विद्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि इच्छुक विद्यार्थीहरुले आफ्नो नाम मनोनयन दर्ता गराएका थिए । त्यसपछि उम्मेदवार विद्यार्थीहरुलाई प्रचारप्रसारको लागि एक दिनको समय पनि दिइएको थियो ।

 

युवा रेडक्रस समितिका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका थिए । समिति चयन निर्वाचनमा एउटा पनि मत बदर नभएको वद्यालय प्रशासनको भनाइ छ । निर्वाचन मण्डल संयोजक शिक्षक रेशम बहादुर थापा रहेका थिए । भने मतदान अधिकृत विद्यालयका सहायक प्रधानाध्यापक बिष्णु प्रसाद अधिकारी रहेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology