विद्यालयमै आविष्कार विद्यालयमै उत्पादन : कावासोतीका २३ विद्यालयमा नवप्रवर्तनको नयाँ अभ्यास
कावासोती । “नमस्कार, नयाँ युगको प्रविधिमा तपाईंलाई स्वागत छ !” कावासोती–१७ स्थित शब्दका त्रिभुवन बाल माध्यमिक विद्यालयको परिसरमा प्रवेश गर्ने जो–कोहीलाई यस्ता शब्दले स्वागत गर्छिन् ‘राधा’। उनी विद्यालयकी शिक्षिका वा कर्मचारी होइनन्, शिक्षक र विद्यार्थीले मिलेर बनाएको रोबोट हुन । गाउँकै सामुदायिक विद्यालयमा रोबोटले स्वागत गरेको दृश्य धेरैका लागि अनौठो लाग्न सक्छ। तर अहिले कावासोतीका विद्यालयहरूमा यस्तै नयाँ अभ्यासहरू सुरु भएका छन । कतै विद्यार्थी रोबोट बनाइरहेका छन्, कतै बायोग्यास उत्पादन गरिरहेका छन्, कतै बेसार प्रशोधन गरिरहेका छन् भने कतै क्यान्डी, तरकारी र फलफूल उत्पादनमा जुटेका छन् ।गण्डकी प्रदेशको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रमले विद्यालय शिक्षालाई कक्षाकोठाबाट उत्पादन र प्रयोगसँग जोड्ने प्रयास थालेको छ। नगरपालिकाका २३ विद्यालयमा सञ्चालन भएका परियोजनाले विद्यालयलाई पढाइ हुने ठाउँ मात्र नभई सिकाइ, अनुसन्धान र उत्पादनको केन्द्र बनाउने प्रयास गरेका छन ।

लामो समयदेखि विद्यालय शिक्षा पाठ्यपुस्तक, परीक्षा र प्रमाणपत्रमा सीमित भएको आलोचना हुँदै आएको बेला कावासोती नगपालिकामा सन्चालन गरिएको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रमले यही परम्परागत सोचलाई बदल्ने प्रयास थालेको छ । कावासोतीका विद्यालयहरुले कृषि, वातावरण, प्रविधि, नविकरणिय ऊर्जा तथा उद्यमशीलतासँग सम्बन्धित परियोजना सञ्चालन गर्न सुरु गरेका हुन । यी परियोजनाले विद्यालयलाई केवल पढाइ हुने स्थान मात्र नभई अनुसन्धान, आविष्कार र उत्पादनको केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
कक्षाकोठाबाट उत्पादनसम्म
कावासोती नगरपालिका अन्तर्गतका २३ वटा विद्यालयले सुरु गरेका कार्यक्रमहरुले विद्यालयका विद्यार्थीहरूलाई अब कक्षा कोठामा मात्र सीमित नराखेर उत्पादनसँग जोडन सुरु गरेको छ । विद्यालहरुले कम्पोस्ट बिन निर्माण, सोलार ड्रायर निर्माण तथा ड्राइफुड उत्पादन, फलफूल नर्सरी स्थापना, जैविक मल तथा नर्सरी निर्माण, मौसमी तथा बेमौसमी तरकारी उत्पादन, कालो हल्दो खेती तथा प्रशोधन, डिजिटल इनोभेसन ल्याब, एकीकृत हरितगृह निर्माण, जैविक विषादी निर्माण, ‘वेस्ट टु वेल्थ’ स्मार्ट इरिगेसन, किचेन गार्डेन, फलफूल उत्पादन, बायोग्यास उत्पादन, गड्यौला मल उत्पादन, बेसारको व्यावसायीकरणका लागि नवीकरणीय ऊर्जामा आधारित प्रशोधन इकाई, इको पोखरी निर्माण, कागज पुनःप्रयोग गरी सजावटका सामग्री उत्पादन, ड्राइफुड उत्पादन, अम्बा र बेसार खेती तथा प्रशोधन इकाई, रोबोटिक्स प्रविधिमार्फत सिकाइ र सीप विकास परियोजनामा विद्यार्थीहरुलाई जोडन सुरु गरेका हुन । यस्ता परियोजनाले विद्यार्थीलाई ‘पढ्ने’ मात्र होइन, ‘गर्ने’ र ‘उत्पादन गर्ने’ संस्कार सिकाउने विश्वास गरिएको छ ।
प्रविधिमा नयाँ सम्भावना
परियोजना अन्तर्गत त्रिभुवन बाल माध्यमिक विद्यालयले रोबोटिक्स प्रविधिमार्फत सिकाइ र सीप विकास कार्यक्रम सञ्चालन गरेको छ । यस अन्र्तगत विद्यालयका शिक्षक र विद्यार्थी मिलेर राधा नाम गरेको रोबोट निर्माण गरेका छन । कम बजेटमा शिक्षक र विद्यार्थीले बनाएको रोर्बटलाई राधा नाम दिएको छ । यो रोबोट निमार्ण गर्ने परियोजनाले विद्यार्थीहरुलाई रोबोटिक्स प्रविधिको आधारभूत ज्ञान मात्रै दिएको छैन आगामी दिनमा रोबोटिक्स जस्ता प्रविधिको क्षेत्रमा अगाडी बढने प्रेरणा समेत दिएको त्रिभुवन बाल माध्यमिक विद्यालयका विज्ञान शिक्षक सुजन पोख्रेलले बताए । कक्षा ९ मा अध्ययनरत समृद्धि पोख्रेलका लागि यो अनुभव नयाँ थियो । “पहिला रोबोट फिल्म र इन्टरनेटमा मात्र देखेका थियौँ। अहिले आफैं रोबोट बनाउने र चलाउने काममा सहभागी हुन पाएका छौँ। रोबोट कसरी चल्छ, कोडिङ कसरी गरिन्छ भन्ने कुरा सिक्न पाउँदा धेरै रमाइलो लागेको छ,” उनले भनिन । उनका अनुसार परियोजनाले विद्यार्थीलाई प्रविधिको प्रयोग मात्र होइन, समस्या समाधान गर्ने र नयाँ कुरा सोच्ने बानी पनि सिकाएको छ ।
नगर भित्रैकै अर्को विद्यालय कालिका माध्यमिक विद्यालयले परियोजना अन्तर्गत इनोभेसन ल्याबको अवधारणा अगाडी सारेको छ । विद्यालयमा इनोभेसन ल्याब स्थापना गरेर श्रव्य दृश्य सामाग्री उत्पादन गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक मिनबहादुर लामाले बताए ।
स्थानीय स्रोत–साधनको उपयोग
यसरी सन्चालन गरिएका परियोजनाहरूको अर्को विशेषता भनेको स्थानीय स्रोत–साधनको उपयोग हो । स्थानीय रूपमा उत्पादन हुने बेसार, फलफूल तथा कृषि उपजलाई प्रशोधन गरेर बजारीकरण् गर्ने योजनाहरू प्रस्तुत गरिएका छन् । कावासोती १३ मा रहेको पिठौली आधारभूत विद्यालयले बेसारको व्यावसायीकरणका लागि नवीकरणीय ऊर्जामा आधारित बेसार प्रशोधन इकाई स्थापना गरेको छ । गोसाइँबाबा आधारभूत विद्यालयले अम्बा र बेसार खेती तथा प्रशोधन इकाई सञ्चालन गर्ने योजना बनाएको छ । यसले विद्यालय र समुदायबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

कृषिलाई प्रविधिसँग जोड्ने प्रयास
छनोट भएका अधिकांश परियोजना कृषि तथा कृषि–आधारित उद्यमसँग सम्बन्धित छन्। हरितगृह निर्माण, नर्सरी स्थापना, जैविक विषादी उत्पादन, गड्यौला मल निर्माण, बेसार खेती तथा प्रशोधन जस्ता परियोजनाले स्थानीय कृषि उत्पादनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। विद्यालय स्तरमै कृषि उद्यमको अभ्यास हुँदा विद्यार्थीले आधुनिक खेती, उत्पादन व्यवस्थापन र बजारको आधारभूत ज्ञान प्राप्त गर्नेछन्। यसले भविष्यमा स्वरोजगार र उद्यमशीलताको बाटो खोल्न सक्छ। विशेष गरी ‘वेस्ट टु वेल्थ स्मार्ट इरिगेसन किचेन गार्डेन प्रोजेक्ट’, ‘इको पोण्ड निर्माण’, ‘बायोग्यास उत्पादन’ तथा ‘नवीकरणीय ऊर्जामा आधारित प्रशोधन इकाई’ जस्ता परियोजनाले वातावरणीय संरक्षण र दिगो विकासका विषयलाई समेत प्राथमिकतामा राखेका छन । विद्यालयहरुले सुरु गरेको परियोजनाहरुले कक्षा कोठालाई उत्पादन सँग जोडदै गर्दा स्थानिय स्रोत र साधनको प्रयोग मात्रै गरेका छैनन, फोहर व्यवस्थापनमा टेवा पु¥याउदै विद्यालयको दिवा खाजा पकाउने भान्सा बाट सिलिन्डर ग्याँस विस्थापन गर्दै नविकरणीय उर्जाको प्रयोगलाई जोड दिएका छन ।

कावासोती–११ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयले विद्यालयको भान्साबाट निस्कने फोहोर प्रयोग गरेर बायोग्यास प्लान्ट निर्माण गरेको छ। विद्यालयमा दिवा खाजाको तयारीपछि निस्कने जैविक फोहोर अहिले बायोग्यास उत्पादनका लागि प्रयोग हुन थालेको हो । यसले फोहोर व्यवस्थापनमा सहयोग पु¥याएको छ भने खाना पकाउन प्रयोग हुने ग्यासको खर्च पनि घटाएको छ । विद्यालयका विज्ञान शिक्षक काशीराम महतो भन्छन्, “फोहोरलाई फाल्ने वस्तु होइन, उपयोग गर्न सकिने स्रोतका रूपमा विद्यार्थीले बुझ्न थालेका छन ्। बायोग्यास परियोजनाले फोहोर व्यवस्थापन र नवीकरणीय ऊर्जाको महत्व व्यवहारमै सिकाएको छ ।” यसरी विद्यालयहरूमा सञ्चालन भएका परियोजनाले वातावरण संरक्षण र दिगो विकासका विषयलाई पनि जोड दिएका छन ।

उत्पादनमुखी शिक्षातर्फको कदम
नेपालको विद्यालय शिक्षामा लामो समयदेखि सीपमूलक र उत्पादनमुखी शिक्षाको आवश्यकता औँल्याइँदै आएको छ। तर व्यवहारमा त्यस्ता कार्यक्रम सीमित मात्रामा सञ्चालन भएका छन्। ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रमले विद्यार्थीलाई वास्तविक जीवनसँग जोड्ने प्रयास गरेको देखिन्छ । विद्यालयमै उत्पादन, अनुसन्धान र प्रयोगको वातावरण सिर्जना हुँदा विद्यार्थीले समस्या समाधान, नेतृत्व, समुहगत कार्य र उद्यमशीलता जस्ता महत्वपूर्ण जीवनोपयोगी सीप सिक्न सक्ने कावासोती नगरपालिकाका शिक्षा शाखा अधिकृत राजन पाण्डेले बताए ।

उत्कृष्टलाई पुरस्कार
कार्यक्रमलाई थप प्रभावकारी बनाउन नगरपालिकाले उत्कृष्ट काम गर्ने विद्यालय र शिक्षकलाई पुरस्कृत गर्ने व्यवस्था पनि गरेको छ । परियोजनाको मूल्याङ्कनपछि उत्कृष्ट तीन विद्यालयलाई जनही एक लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट १० परियोजनाको नेतृत्व गर्ने शिक्षकलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ । नगरपालिकाको विश्वास छ, यसले विद्यालय र शिक्षकलाई अझ सिर्जनशील र जिम्मेवार ढंगले काम गर्न प्रेरित गर्नेछ ।
चुनौती पनि छन्
यति हुँदाहुँदै चुनौती भने कम छैनन । चालु वर्ष प्रत्येक विद्यालयले परियोजना सञ्चालनका लागि एक लाख रुपैयाँ बजेट प्राप्त गरेका छन् । केही परियोजनाका लागि त्यो रकम पर्याप्त भए पनि केही विद्यालयले आफ्नै स्रोतबाट थप खर्च गर्नुपरेको छ। नगरपालिकाका शिक्षा शाखा अधिकृत राजन पाण्डेका अनुसार नियमित बजेट, प्राविधिक सहयोग र निरन्तर अनुगमन परियोजनाको सफलताका लागि आवश्यक छ। “शिक्षक र विद्यार्थीले नियमित पढाइसँगै अतिरिक्त समय निकालेर परियोजना सञ्चालन गरिरहेका छन्। त्यसैले समय व्यवस्थापन पनि चुनौतीको विषय बनेको छ,” उनले भने ।

विद्यालय बदलिँदैछन्
कावासोतीका विद्यालयमा सुरु भएको यो अभ्यासले शिक्षा केवल किताब र परीक्षामा सीमित हुँदैन भन्ने सन्देश दिन थालेको छ । रोबोटले स्वागत गर्ने विद्यालय, फोहोरबाट ग्यास निकाल्ने भान्सा, आफ्नै नर्सरी र प्रशोधन केन्द्र सञ्चालन गर्ने विद्यार्थी तथा उत्पादनसँग जोडिएको सिकाइले विद्यालयको पुरानो स्वरूप बदल्न थालेको छ । सबै परियोजना शतप्रतिशत सफल हुन्छन् भन्ने निश्चित छैन । बजेट, समय र प्राविधिक सहयोगका चुनौती पनि छन । तर विद्यालयलाई सिकाइ, अनुसन्धान र उत्पादनको केन्द्र बनाउने प्रयास भने आफैंमा महत्वपूर्ण छ । यदि यी परियोजनाले निरन्तरता पाए भने कावासोतीका विद्यालयमा सुरु भएको यो अभ्यास अन्य स्थानीय तहका लागि पनि उदाहरण बन्न सक्छ । शिक्षा जीवनसँग जोडिनुपर्छ भन्ने बहस भइरहेका बेला कावासोतीका विद्यालयले त्यसलाई व्यवहारमा उतार्ने प्रयास थालेका छन । किताबमा पढेका कुरा व्यवहारमा देख्न र गर्न पाउने अवसरले विद्यार्थीमा नयाँ आत्मविश्वास जन्माएको छ ।
दश वर्ष देखि अधुरै कालीगण्डकी गडगडी घाटको पुल
थप समाचार
लोकप्रिय (यो साता)
न्यूज अपडेट
-
मध्यविन्दुले ल्यायो १ अर्ब ३ करोड १६ लाख ७१ हजारको बजेट
-
कावासोती नगरपालिकाको ९९ करोड १० लाख बजेट : शिक्षा, कृषि र स्वास्थ्यलाई प्राथमिकता
-
कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा अमृतकुमार श्रेष्ठ विजयी
-
विद्यालयमै आविष्कार विद्यालयमै उत्पादन : कावासोतीका २३ विद्यालयमा नवप्रवर्तनको नयाँ अभ्यास
-
वन्यजन्तुका आखेटोपहार नौ वर्ष देखि व्यवस्थापन नहुँदा निकुञ्जलाई समस्या
-
जनताले जर्नेल समातेको दिन : संरक्षणको इतिहासमा समुदायको साहसिक हस्तक्षेप
-
एसियाली ‘पावर हाउस’ दक्षिण कोरियाको विजयी शुरूआत

Facebook Comment