मध्यविन्दुले ल्यायो १ अर्ब ३ करोड १६ लाख ७१ हजारको बजेट

मध्यविन्दुले ल्यायो १ अर्ब ३ करोड १६ लाख ७१ हजारको बजेट

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका को १९औँ नगर अधिवेशन बुधबार सम्पन्न भएको छ। नगर प्रमुख भिमलाल अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपप्रमुख पूर्णकला चौधरीले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ३ करोड १६ लाख ७१ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ।

नगरपालिकाले सीमित स्रोत, बढ्दो आवश्यकता र नागरिक अपेक्षाबीच सन्तुलन कायम गर्दै विकास र सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट ल्याएको जनाएको छ। प्रस्तुत बजेटमा चालु तथा प्रशासनिक खर्चतर्फ ६५ करोड २० लाख १२ हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ ३७ करोड ९६ लाख ५९ हजार रुपैयाँ विनियोजन गरिएको छ।

बजेटअनुसार आर्थिक विकास क्षेत्रका लागि ४ करोड ४२ लाख ३२ हजार रुपैयाँ, सामाजिक विकास क्षेत्रका लागि ४४ करोड १२ लाख ६१ हजार रुपैयाँ, पूर्वाधार विकास क्षेत्रका लागि ३५ करोड ८८ लाख ७४ हजार रुपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रका लागि २ करोड ४ लाख ३० हजार रुपैयाँ तथा सुशासन र संस्थागत विकासतर्फ १६ करोड ६८ लाख ७४ हजार रुपैयाँ विनियोजन गरिएको छ।

उपप्रमुख चौधरीले प्रस्तुत गर्नुभएको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास तथा सुशासनलाई आगामी वर्षका प्रमुख प्राथमिकता क्षेत्रका रूपमा समेटिएको छ। गुणस्तरीय शिक्षामा नागरिकको पहुँच विस्तार गर्ने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने, स्वास्थ्य संस्थाहरूको सेवा क्षमता अभिवृद्धि गर्ने तथा नागरिकलाई सहज र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य बजेटले लिएको छ।

त्यसैगरी कृषिको आधुनिकीकरण, व्यवसायीकरण तथा उत्पादन वृद्धि गरी कृषिलाई आयआर्जनको प्रमुख आधार बनाउने नीति अवलम्बन गरिएको छ। कृषकलाई प्रोत्साहन, उत्पादनमुखी कार्यक्रम सञ्चालन, सिंचाइ सुविधा विस्तार तथा कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने योजनासमेत बजेटमा समेटिएको छ।

पूर्वाधार विकासतर्फ नगरभित्रका सडक सञ्जालको स्तरोन्नति, खानेपानी आयोजना विस्तार, सिंचाइ प्रणाली सुधार, सार्वजनिक भवन निर्माण तथा अन्य विकास निर्माणका योजनालाई प्राथमिकताका साथ अघि बढाइने भएको छ। दिगो विकासको अवधारणाअनुसार पूर्वाधार निर्माणलाई प्रभावकारी र परिणाममुखी बनाउने लक्ष्य नगरपालिकाले लिएको छ।

वन, वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रअन्तर्गत वातावरण संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण, हरियाली प्रवर्द्धन तथा विपद् जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। साथै सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग, संस्थागत क्षमता अभिवृद्धि तथा पारदर्शी प्रशासनिक अभ्यासलाई पनि बजेटले विशेष प्राथमिकता दिएको छ।

अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रमले नगरभित्रका सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र सिंचाइ क्षेत्रका योजनालाई प्राथमिकतामा राखेको छ। युवालाई स्वरोजगार र उद्यमशीलतामा आकर्षित गर्ने, स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने तथा वातावरणीय सन्तुलन कायम राख्ने कार्यक्रमहरू समेत समावेश गरिएको छ।

नगरसभामा बजेट तथा नीति कार्यक्रममाथि सदस्यहरूले आ–आफ्ना धारणा, सुझाव तथा जिज्ञासा प्रस्तुत गरेका थिए। छलफलका क्रममा विकास योजनाको प्रभावकारी कार्यान्वयन, बजेटको पारदर्शी परिचालन तथा नागरिकको प्रत्यक्ष लाभ सुनिश्चित गर्नुपर्ने विषयमा जोड दिइएको थियो।

उपप्रमुख चौधरीले प्रस्तुत बजेटले नागरिकमैत्री सेवा प्रवाह, सामाजिक सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास, कृषि उत्पादन वृद्धि तथा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटलाई ‘समृद्ध मध्यविन्दु निर्माणको आधार’ का रूपमा प्रस्तुत गर्दै विकास निर्माणका कामलाई थप तीव्र, व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology