कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा अमृतकुमार श्रेष्ठ विजयी

कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा अमृतकुमार श्रेष्ठ विजयी

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १०औँ अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट अमृतकुमार श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका छन्।

बहुपक्षीय प्रतिस्पर्धाबीच सम्पन्न निर्वाचनमा श्रेष्ठले सबैभन्दा बढी १ हजार ६ सय ४३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। अध्यक्ष पदका अन्य प्रत्याशीमध्ये दीपकराज लम्सालले १ हजार ३ सय ४९ मत, हेमप्रसाद पाण्डेले १ हजार १ सय ३६ मत, फणिन्द्र थापा मगरले २ सय १८ मत, लोकप्रसाद काफ्लेले १ सय १२ मत तथा यात्मराम सुवेदीले ९९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

निर्वाचनको अन्तिम मतपरिणामअनुसार उपाध्यक्षमा लक्ष्मी गौतम १ हजार ३ सय ८० मतसहित विजयी भएकी छन् भने सचिवमा रमाकान्त काफ्ले १ हजार १ सय ४४ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

त्यसैगरी जनजाति महिला सदस्यमा सुनमाया थापा, दलित महिला सदस्यमा बिर्सना सुनार, लेखा संयोजकमा दिपेन्द्र न्यौपाने, लेखा सदस्यमा केशरीप्रसाद अधिकारी तथा लेखा महिला सदस्यमा हुमकला भुसाल पोखरेल निर्वाचित भएका छन्।

वडा सदस्यतर्फ वडा नं. २ बाट गम्भीर सारु, वडा नं. ३ बाट भरतराज सेढाई , वडा नं. ५ बाट वीरबहादुर थापा, वडा नं. ६ बाट ईन्द्रप्रसाद काफ्ले, वडा नं. ८ बाट मनबहादुर गुरुङ तथा वडा नं. ९ बाट सूर्य हमाल निर्वाचित भएका छन्।

संस्थामा कुल ७ हजार ९ सय ९० मतदाता रहेकोमा निर्वाचनमा ५ हजार १ सय ४९ मत खसेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन शान्तिपूर्ण, निष्पक्ष तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको समितिको भनाइ छ।

निर्वाचनपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले संस्थाको खानेपानी सेवा विस्तार, वितरण प्रणालीको सुधार, सरसफाइ व्यवस्थापन तथा उपभोक्तामैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले संस्थामा सुशासन, पारदर्शिता र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै उपभोक्ताको विश्वास कायम राख्दै संस्थाको दीर्घकालीन विकासका लागि सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology