जनताले जर्नेल समातेको दिन : संरक्षणको इतिहासमा समुदायको साहसिक हस्तक्षेप

जनताले जर्नेल समातेको दिन : संरक्षणको इतिहासमा समुदायको साहसिक हस्तक्षेप

कावासोती । नेपालको संरक्षण इतिहासमा स्थानीय समुदायको सक्रियता र साहसको उदाहरणका रूपमा स्मरण गरिने घटनामध्ये एक हो– “जनताले जर्नेल समातेको दिन”। आज जेठ ३१ गते, २०६९ साल जेठ ३१ मा भएको त्यही चर्चित घटनाको सम्झना गरिन्छ, जसले वन्यजन्तु संरक्षणमा समुदायको भूमिकालाई नयाँ उचाइमा स्थापित गरेको थियो।

त्यो दिन चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा स्थानीयवासीले नेपाली सेनाका उच्च पदस्थ पूर्व अधिकारीसहित तीन जनालाई हतियार र सिकारसहित पक्राउ गरेका थिए। हालको कावासोती नगरपालिकाको वडानं १३ को नमूना मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट प्रभावशाली व्यक्तिहरू प्रत्यक्ष रूपमा वन्यजन्तु चोरी सिकारमा संलग्न रहेको अवस्थामा समुदायको सक्रियतामा पक्राउ परेको यो घटना त्यसबेला राष्ट्रिय स्तरमै चर्चाको विषय बनेको थियो।

रातो कारको रहस्य र स्थानीयको निगरानी

स्थानीयवासीका अनुसार घटनाभन्दा केही समय अघिदेखि मध्यवर्ती वन क्षेत्रमा एउटा रातो रङको कार बारम्बार आउजाउ गरिरहेको देखिन्थ्यो। यसले स्थानीयमा शंका उत्पन्न गरेपछि वन क्षेत्रमा निगरानी बढाइएको थियो।
२०६९ साल जेठ ३१ गते बिहान करिब ४ बजेतिर सोही रातो रङको बा २ च ४३५४ नम्बरको कार नमूना मध्यवर्ती सामुदायिक वन क्षेत्रमा प्रवेश गरेको सूचना पाएपछि लामिचौर उपभोक्ता समितिका तत्कालीन अध्यक्ष तथा हाल कावासोती नगरपालिका–११ का वडा अध्यक्ष शारदाप्रसाद अधिकारी नेतृत्वको टोली वन क्षेत्रमा पुगेको थियो। झिसमिसे उज्यालो हुँदै गर्दा स्थानीय युवासहितको टोलीले वन क्षेत्रबाट फर्किरहेका व्यक्तिहरूलाई रोकेर जाँच गर्दा उनीहरूको साथबाट भरुवा बन्दुक तथा सिकार गरेर मारेको हरिण फेला परेको थियो।

घटनामा प्रयोग गरिएको रातो गाडी

पक्राउ परेका प्रभावशाली व्यक्ति

स्थानीयले पक्राउ गरेका व्यक्तिहरूमध्ये नेपाली सेनाका पूर्व उपरथी, ललितपुर कुपण्डोल निवासी ७० वर्षीय सागर शमशेर जंगबहादुर राणा, पूर्व सुवेदार सिताराम कार्की तथा बज्रदल गण डण्डाका क्याप्टेन बलदेव कुँवर रहेका थिए। घटनाको खबर फैलिनासाथ ठूलो संख्यामा स्थानीयवासी घटनास्थलमा जम्मा भएका थिए। उच्च ओहदाका व्यक्तिहरू वन्यजन्तु चोरी सिकारमा संलग्न रहेको आरोपमा पक्राउ परेपछि स्थानीयमा आक्रोश समेत देखिएको थियो।

प्रहरी कार्यालयसम्म पुर्‍याउनै सकस

पक्राउ परेकाहरूलाई सुरक्षित रूपमा प्रहरीको जिम्मा लगाउन स्थानीय र सुरक्षाकर्मीलाई निकै कठिन भएको प्रत्यक्षदर्शीहरू बताउँछन्। आक्रोशित स्थानीयको भीडका कारण उनीहरूलाई सिधै गाडीमा राखेर लैजान सम्भव नभएपछि केही समय मारेको हरिण बोकेर हिँडाउनुपरेको थियो। त्यसबेला चितवन राष्ट्रिय निकुञ्ज प्रशासन र नेपाली सेनाले निकुञ्जको कार्यक्षेत्रभित्र भएको घटना भएकाले कारबाही प्रक्रिया आफूहरूले अघि बढाउने र पक्राउ परेकाहरूलाई आफ्नो जिम्मामा लैजाने प्रस्ताव गरेका थिए। तर स्थानीयवासीले त्यसको विरोध गर्दै घटनाको निष्पक्ष अनुसन्धान र कानुनी प्रक्रिया सुनिश्चित गर्न माग गरेका थिए। स्थानीयको दबाबपछि पक्राउ परेकाहरूलाई अन्ततः इलाका प्रहरी कार्यालय कावासोती ल्याइएको थियो।

मारिएको हरिण सहित पक्राउ परेका उपरथी जबरा र पुर्व सुवेदार सिताराम कार्की

समुदायको सक्रियताले लेखेको इतिहास

रातो कार जंगल पसेको सूचना पाए पछि एका बिहानै  शारदाप्रसाद अधिकारीसँगै आइल्याण्ड जंगल रिसोर्टका तत्कालीन व्यवस्थापक दीपक तिवारी, वन्यजन्तु चोरी सिकार नियन्त्रण युवा जागरण अभियानका सदस्य दीपक शर्मा, सुरज विक लगायतका जंगल प्रवेश गरेर उक्त कारको खोजी सुरु गरेका थिए। स्थानीयको टोलीले मोटरसाइकल मार्फत पिछा गर्दै सिकारसहित रातो कारलाई नियन्त्रणमा लिएका थिए ।

वन्यजन्तु चोरी सिकार नियन्त्रण युवा जागरण अभियानका संस्थापक अध्यक्ष विष्णु अधिकारीका अनुसार त्यसबेला वन्यजन्तु चोरी सिकारमा प्रभावशाली व्यक्तिहरूको संलग्नताको चर्चा हुने गरे पनि कानुनी कारबाही भने अधिकांश अवस्थामा तल्लो तहका भरिया वा सहयोगीहरूमा सीमित हुने गरेको आरोप लाग्ने गर्थ्यो। उनले भने, “हामीले सधैं संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण हुन्छ भनेका थियौं। उच्च पदमा रहेका व्यक्तिहरूलाई हतियार र सिकारसहित घटनास्थलबाटै स्थानीयले पक्राउ गरेको यो घटनाले त्यो कुरा व्यवहारमै प्रमाणित गरिदियो।”

पक्राउको अगुवाइ गरेका लामिचौर उपभोक्ता समितिका तात्कालिन अध्यक्ष शारदा प्रसाद अधिकारी सहितका स्थानीय

संरक्षण आन्दोलनको प्रेरणादायी अध्याय

संरक्षण क्षेत्रमा काम गर्ने अभियन्ता, अनुसन्धानकर्ता तथा वन्यजन्तु संरक्षणकर्मीहरूले यो घटनालाई नेपालको संरक्षण आन्दोलनको महत्वपूर्ण मोडका रूपमा लिने गरेका छन्। समुदायको सतर्कता, साहस र सहभागिता भए वन्यजन्तु अपराध नियन्त्रण सम्भव छ भन्ने सन्देश यो घटनाले दिएको उनीहरूको भनाइ छ। आज पनि जेठ ३१ गते आउँदा संरक्षणकर्मीहरू “जनताले जर्नेल समातेको दिन” सम्झन्छन्। यो केवल केही व्यक्तिको पक्राउको घटना मात्र नभई संरक्षणको जिम्मेवारी सरकार र सुरक्षा निकायको मात्रै नभई समुदायको पनि हो भन्ने सशक्त सन्देश दिएको ऐतिहासिक दिनका रूपमा स्थापित भएको छ।

घटनामा प्रयोग गरिएको बन्दुक
पक्राउ परेका निवृत्त उपरथी सागर शमसेर जबरा स्थानीयसँग माफी माग्दै

तस्बिर सौजन्य : पत्रकार श्रीराम सिग्देल र वन अधिकृत कोमलराज काफले

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology