कावासोती । नवलपुरको कावासोती नगरपालिकाले यसै वर्ष देखि नगरभित्रका १६ वटा विद्यालयमा सङ्गीत कक्षा सन्चालन गरेको छ ।
चालु आर्थिक वर्षबाट सङ्गीत कक्षा सञ्चालन गर्ने गरी शिक्षा युवा तथा खेलकुद शाखाले कार्यविधि नै निर्माण गरेर शिक्षक नियुक्तिको प्रकृया पूरा गरी केही समयअघिदेखि सङ्गीत कक्षा सञ्चालन भइरहेको छ ।
यस वर्ष नमूनाका रूपमा १६ वटा माविहरूमा सङ्गीत कक्षा सुरुवात गरिएको हो । एक जना नगर सङ्गीत शिक्षक र एक जना सहायक सङ्गीत शिक्षक राखेर हप्तामा दुई दिन एक एक पिरिएड सङ्गीत कक्षा सञ्चालन गर्ने गरी सामान्य पाठ्यक्रम समेत निर्माण गरिएको नगर शिक्षा अधिकृत राजन पाण्डेले जानकारी दिए ।
पहिलो वर्ष कक्षा ६ लाई लक्षित गरी कक्षा सञ्चालन भएको र आगामी वर्षबाट ७,८ र ९ कक्षामा सञ्चालन गरिने पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार पहिलो प्राथमिकतामा मादल र हार्मोनियमलाई राखिएको छ, त्यसपछि गितार तथा विभिन्न लोकबाजा बजाउने सीप प्रदान गरिने छ ।
सङ्गीत सिकाइले विद्यार्थीको स्क्रिन टाइम तथा मोबाइलको लत घटाउन सहयोग गर्ने भएकाले सङ्गीत कक्षा प्रभावकारी हुने पाण्डेको विश्वास छ । सङ्गीत सिकाईले विद्यार्थीमा विषयवस्तुमा ध्यानाकर्षण हुने क्षमता विकास हुने तथा आधुनिक तथा परम्परागत बाजाहरूको संरक्षण गर्न यो कार्यक्रमले मद्दत गर्ने पाण्डेको भनाइ थियो ।
वाद्यवादनको सामग्री खरिद गर्न नगरपालिकाले एउटा विद्यालयका लागि ६० हजार रुपियाँ अनुदान उपलब्ध गराएको र विद्यालयको तर्फबाट ३० हजार रुपियाँ थप गरी ९० हजार रुपियाँ बराबरको सामग्री खरिद गरेर संगीत कक्षा सुरु गरिएको हो ।
Facebook Comment