नवलपुर हाटबजार व्यवस्थापन समितिको साधारण सभा सम्पन्न

NAWALPUR TIMES

नवलपुर हाटबजार व्यवस्थापन समितिको साधारण सभा सम्पन्न

 कावासोती : नवलपुर साप्ताहिक हाटबजार व्यवस्थापन समितिको १० औं वार्षिक साधारण सभा बिहिबार कावासोतीमा सम्पन्न भएको छ ।

कावासोती–२ स्थित खानेपानीको सभाहलमा सम्पन्न भएको साधरण सभाले कोषाध्यक्ष सरस्वती अधिकारीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र प अध्यक्ष डोलराज चापागाईँले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन पारित गरेको छ ।

साधरणसभाको उद्घाटन समारोहलाई संबोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य एबं पुर्ब मन्त्री रोशन बहादुर गाहाले हाटबजारलाई स्थानीय अर्थतन्त्रको मेरुदण्ड भएको बताए । हाटबजारको व्यवस्थित सञ्चालनले साना तथा मझौला व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्ने उनको भनाई छ । उनले हाटबजारलाई आधुनिक, स्वच्छ र व्यवस्थित बनाउन आवश्यक रहेको उल्लेख गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोग र सहकार्य रहने प्रतिबद्धता जनाए।

त्यस्तै, विशिष्ट अतिथि मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले हाटबजारले स्थानीय उत्पादनको बजारीकरण र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले नगरपालिकाले हाटबजार व्यवस्थापन सुधार, पूर्वाधार विकास तथा व्यवसायीमैत्री वातावरण निर्माणमा प्राथमिकता दिने बताए।

यसै गरि नवलपुर साप्ताहिक हाटबजार व्यवस्थापन समितिका अध्यक्ष डोलराज चापागाईँले विगत वर्षमा भएका गतिविधिहरूको समीक्षा गर्दै आगामी दिनमा हाटबजारको पूर्वाधार सुधार, सरसफाइ व्यवस्थापन र सेवा प्रवाहको गुणस्तर अभिवृद्धिमा जोड दिने बताए। उनले हाटबजारलाई नमुना बनाउने लक्ष्यका साथ सबै सरोकारवाला निकायसँग सहकार्य आवश्यक रहेको पनि बताए ।

कार्यक्रममा हाटबजार व्यवसायी संघ रुपन्देहीका उपाध्यक्ष ङनुकान्त पोखरेल, कपिलवस्तु हाटबजार संघका वरिष्ठ उपाध्यक्ष गोविन्द पोखरेल, कृषि उपज थोक बजार व्यवस्थापन समिति कावासोतीका अध्यक्ष खेमप्रसाद काफ्ले, हाटबजार शाखा समितिका अध्यक्ष भीमलाल चापागाईँ तथा सल्लाहकार भूपराज भुसाल लगायतले हाटबजार व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सुझाव दिएका थिए।

कार्यक्रममा सहभागीहरूले हाटबजारलाई स्थानीय आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनाको महत्वपूर्ण माध्यमका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए। समितिका अध्यक्ष डोलराज चापागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब दिपक डुम्रेले गरेका थिए भने उपाध्यक्ष शिवप्रसाद भुसालले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology