नवलपुर । सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर नवलपुरमा एक जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–४ सिलौटेस्थित सूर्यविनायक सामुदायिक वनमा गए राति सिकार खेल्ने क्रममा उक्त घटना भएको हो ।
घाइते हुनेमा पाल्पाको निस्दी गाउँपालिका–७ देवकी घर भई हाल विनयी त्रिवेणी–३ कटुसघारी बस्दै आएका २८ वर्षीय खिमबहादुर राक्से मगर रहेका छन् । उनको पेटको बायाँ भागमा दुई वटा प्वाल परेको अवस्थामा मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार सम्भव नभएपछि थप उपचारका लागि चितवनको सेन्ट्रल अस्पताल, भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुईनाल भरुवा बन्दुकसहित नौ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । पक्राउ पर्नेमा विनयी त्रिवेणी–३ सिद्रेका २८ वर्षीय दिलबहादुर सारु मगर, १७ वर्षीय गणेश सारु मगर, पाल्पा निस्दी गाउँपालिका–७ का ३३ वर्षीय कृष्णबहादुर राक्से र सोही स्थानका २० वर्षीय ताराबहादुर आले रहेका छन् ।
त्यसैगरी विनयी त्रिवेणी–४ सिद्रेका ४५ वर्षीय दानबहादुर वयम्बु, ४२ वर्षीय दिलबहादुर वयम्बु, खयरघारीका ४३ वर्षीय धनबहादुर सुनार, कटुसघारीका २१ वर्षीय अविनाश चौधरी र ५६ वर्षीय बलबहादुर राना मगरलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comment