डिजिटल दुनियाँको भ्रमबाट जोगिन तयारी आवश्यक छ : कांग्रेस नवलपुर २ का उम्मेदवार घर्ती

डिजिटल दुनियाँको भ्रमबाट जोगिन तयारी आवश्यक छ : कांग्रेस नवलपुर २ का उम्मेदवार घर्ती

कावासोती । नवलपुर क्षेत्र नं २ का उम्मेदवार एवं नेपाली कांग्रेसका नेता ओमबहादुर घर्तीले प्रविधिको दुनियाँमा आएको परिवर्तनसँगै बढ्दो गलत सूचना (मिसइन्फरमेसन) बाट आफू र समाजलाई जोगाउनुपर्ने बताएका छन्।

नेपाल तरुण दल नवलपुरले आइतबार चोरमारामा आयोजना गरेको युवा भेला कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । निर्वाचनको समय नजिकिँदै गर्दा अब विस्तारै विपक्षीहरूले ‘एन्टी-क्याम्पेन’ शुरू गर्ने र त्यसले समाजमा नकारात्मक सामग्रीहरूको बाढी ल्याउने उनले उल्लेख गरे। मानिसहरूलाई झुक्याउने, गलत बाटोमा लैजाने र भ्रमित पार्ने सामग्रीहरूले गर्दा समाजले सही र गलत छुट्याउन नसक्ने अवस्था आउने उनले चेतावनी दिए ।

घर्तीका अनुसार मतदान गर्नुअघि मतदाताको निर्णयलाई प्रभाव पार्नका लागि नियोजित रूपमा गलत सूचनाहरू फैलाउने गरिन्छ। एक पटक भ्रमका आधारमा गलत निर्णय लिइसकेपछि त्यसलाई सच्याउन नसकिने हुनाले सूचनाको सत्यतथ्य जाँच्न सक्ने क्षमता विकास गर्नुपर्नेमा उनले जोड दिए ।

“कुन सूचना सही हो र कुन नियोजित भ्रम हो भनेर चिन्नका लागि अहिलेदेखि नै विशेष तयारी हुनुपर्छ,” उनले भने । आजको डिजिटल युगमा युवा पुस्ताले प्रविधिको दुरुपयोगलाई चिर्न सक्नुपर्ने उनको तर्क छ ।

उम्मेदवार घर्तीले यदि युवाहरू आफ्नै ठाउँबाट सचेत र तयार भएमा मात्रै आफू भ्रमबाट बच्न र बाँकी समाजलाई पनि जोगाउन सकिने बताए । उनले कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा देखिने सामग्रीहरूको गहिराइ बुझेर मात्रै धारणा बनाउन आग्रह गरे।

सूचना प्रविधिको यो समयमा सचेत नागरिकले नै लोकतन्त्र र सही नेतृत्वको रक्षा गर्न सक्ने उनले प्रस्ट पारे।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology