धरासायी बन्यो नवलपुर सदरमुकाम कावासोतीकै सरकारी विद्यालय

धरासायी बन्यो नवलपुर सदरमुकाम कावासोतीकै सरकारी विद्यालय

नवलपुर। बोटो, माझी, मुसहर समुदायका विपन्न परिवारका बालबालिकालाई पढाउने भनेर २०५३ सालमा नवलपुर सदरमुकाम कावासोती–११ लौगाईमा खोलिएको एक सरकारी विद्यालय नाजुक अवस्थामा पुगेको छ । हरेक वर्ष विद्यार्थी संख्या घट्दै गएको अवस्थामा विद्यालयका प्रधानाध्यापकले समेत राजीनामा दिएर राजनीतिमा लागेपछि श्री नारायणी प्राथमिक विद्यालय खारेज हुने अवस्थामा पुगेको हो ।

धेरै हुँदा एक सय ४५ जनासम्म विद्यार्थी रहेको यो विद्यालयमा अहिले ९ जना मात्र अध्ययन गर्छन् । कहिलेकाँही त तीन चार जना मात्र आउने गरेको विद्यालयले जनाएको छ ।

‘‘त्यतिबेला अरु विद्यालय नजिक थिएनन्, विपन्न तथा असहाय बालबालिकाका लागि भनेर सुरुमा प्रतिघर १० रुपैयाँ चन्दा उठाएर विद्यालय खोलिएको थियो, पछि एउटा गैर सरकारी संस्थाले दुई तले भवन पनि बनाइदियो’’ स्थापना कालदेखि सोही विद्यालयमा अध्यापन गरिरहेकी शिक्षक लक्ष्मी भुसालले भनिन्, ‘‘अहिले लथालिंग अवस्थामा पुगेको छ ।’’

विद्यालयमा अहिले तीन जना शिक्षक छन् । राजीनामा दिएका प्रधानाध्याप दधिराम परियारको राजीनामा स्वीकृत नहुँदा नयाँ शिक्षक नियुक्ति गर्न समस्या भएको वडा नम्बर ११ का अध्यक्ष शारदाप्रसाद अधिकारीले बताए । ‘‘प्रअ परियारले राजीनामा दिनुभयो, त्यसलाई स्वीकृत गरेर हामीले नगर शिक्षा कार्यालयमा पठायौं तर उहाँले सक्कली राजीनामा गोजीमा हालेर फोटोकपी मात्र दिएकाले हामीले त्यही समावेश गरेर कार्यालयमा पठाए पनि नगर शिक्षा कार्यालयले स्वीकृत गरेन,’’ अध्यक्ष अधिकारीले भने ।

नगर शिक्षा कार्यालयले भने सक्कली राजीनामा नआउँदासम्म स्वीकृत गर्न गाह्रो भएको बताएको छ । नगर शिक्षा अधिकारी हेमचन्द्र पौडेलले पटक पटक फोन गरेर प्रअ परियारलाई सक्कली राजीनामा सहित कार्यालयमा आउन आग्रह गर्दा पनि नआएको बताए । ‘‘विद्यालय व्यवसथापन समितिले राजीनामाको फोटोकपी राखि निर्णय गरेर पत्र पठाएको छ, तर स्वीकृत गर्नका लागि सक्कली राजीनामा चाहिन्छ,’’ पौडेलले भने, ‘‘हामीले पनि सम्पर्क गरेर उपस्थित हुन आग्रह गरिरहेका छौं, तीन दिनमा आउँछु भनेको पनि धेरै दिन बितिसक्यो, उहाँ अझै आउनु भएको छैन ।’’

परियारले भने आफूले राजीनामा दिइसकेको तर कार्यालयले आफै उपसिथत हुन भनेकाले छिट्टै उपस्थित भएर सक्कली राजीनामा बुझाउने बताए । पौडेलले विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर पठाएको बताए पनि यो समिति निष्कृय भएको तीन वर्ष भइसकेको शिक्षिका भुसालको भनाइ छ । ‘‘विद्यालय व्यवस्थापन समिति तीन वर्षदेखि निष्कृय छ । समितिको अध्यक्ष, सदस्य बन्नेले नै आफ्नो बच्चा यहाँ पढाउँदैनन् । कि त बोडिङमा पठाउँछन कि अरु नै विद्यालयमा लैजान्छन्’’ भुसालले भनिन् ।

शिक्षक आन्दोलनको असर
गतवर्ष विद्यार्थी संख्या राम्रै भए पनि यो पटक काठमाडौं केन्द्रीत शिक्षकहरुको आन्दोलनले थप असर गरेको देखिएको छ । हामी विद्यार्थी भर्नाको बेला शिक्षक आन्दोलनका लागि काठमाडौं जानु परेकाले घरदैलो गर्न सकिएन, एक दुई जना शिक्षक त हुनुहुन्थ्यो, तर यता राम्रो पढाई हुन्न, यो विद्यालय अव चल्दैन भनेर अभिभावकले विद्यार्थी अन्तै पठाए,’’ भुसालले भनिन् ।

तीन विकल्प बाँकी
विद्यालय अव यही अवस्थामा चन्ल नसक्ने देखिएको छ । त्यसैले यो विद्यालयका लागि तीन वटा विकल्प बाँकी छन् । वडाध्यक्ष अधिकारीेले अव कित विद्यालय खारेज गर्ने हो तर त्यो भन्दा राम्रो विकल्प अर्को विद्यालयमा गाभ्ने वा कक्षा घटाउने मात्र विकल्प बाँकी रहेको बताए ।

शिक्षा कार्यालय पनि अव यो विद्यालयलाई यही अवस्थामा चलाउन नसकिने निष्कर्षमा पुगेको छ । नगर शिक्षा अधिकारी पौडेलले भने, ‘‘आगामी नयाँ शैक्षिक सत्रदेखि प्रकृया पुरा गरेर अर्को विद्यालयसँग समायोजन गर्नुको विकल्प छैन ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology