कावासोती । चितवन राष्ट्रिय निकुञ्जले एक जना नेचर गाईडको अनुमति पत्र (लाईसेन्स) एक महिनालाई निलम्बन गरेको छ ।
पर्यटकहरुलाई सामुदायिक वन भित्र वन्यजन्तु अवलोकन तथा सफारी गराउने क्रममा प्लास्टिक जन्य झोला र सामाग्री प्रयोग गराएको र जंगलमा पर्यटक झारेर ड्राई पिकनिक गराएका नवलपुरका एक जना नेचर गाईडको लाईसेन्स एक महिनालाई निलम्बन गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । थापाका अनुसार आगामी दिनमा सफारीका आधारभुत नियम उलंघन गरेमा लाईसेन्स खारेज गर्ने गरि तत्कालका लागि एक महिना निलम्बनमा राखिएको हो ।
केही समय पहिले नवलपुरको दिब्य मध्यवर्ती सामुदायिक वनमा यात्रुलाई जंगल भित्रै उतारेर ‘ड्राई पिकनिक’ खुवाईएको थियो । ड्राई पिकनिक खुवाईएको घटना बाहिरिए पछि निकुन्जले अनुसन्धान अगाडी बढाएको थियो । सूचना अधिकारी थापाका अनुसार जंगलमा झरेर ड्राई पिकनिक खाएका पर्यटक बोकेका गाडीका नेचर गाईड (अनुमती पत्र नं ७४०) को लाईसेन्स एक महिनालाई निलम्बन गरिएको हो ।
त्यसै गरि निकुञ्जले दिव्य मध्यवर्ती सामुदायिक वनलाई समेत उक्त वनको कार्ययोजनामा व्यवस्था भए अनुसार का शर्तहरु पालना गराएर मात्रै सफारी सन्चाल गर्न गराउन सचेत गराईएको सूचना अधिकारी थापाले जानकारी दिए ।
यसरी कार्यविधि विपरित जीप सफारी गराउने क्रम बढेपछि निकुञ्ज पनि आक्रमक बनेको छ । उनीहरुलाई पहिलो चरणमा सम्झाई बुझाइ गर्ने, दोस्रो चरणमा जीप सफारीमा रोक लगाउने र फोरी पनि गल्ती दोहोर्याएमा सामुदायिक वन नै फिर्ता लिनेसम्मको प्रकृयामा जाने निकुञ्जका सूचना अधिकारी थापाले बताए ।
प्रकाशित : २०८२ मंसिर २० गते २१:००
Facebook Comment