राजन पाण्डे-
सम्माननीय प्रधानमन्त्रीज्यू,
सादर नमस्कार !
म आगो सहन्छु अन्याय सहन्न,
म तृष्णा सहन्छु तिरस्कार सहन्न ।
मेरो शिर उडाओस् त्यो बरु सहन्छु,
तर कोही परायाले टेके सहन्न ।
बनेको छ पहराले यो छाती मेरो,
बगेको छ छहरा रगतमा मेरो।
पखेरुमा जन्मि, टाकुरा म खेल्ने,
म झुक्दै नझुक्ने नेपालको छोरो
म झुक्दै नझुक्ने नेपालको छोरी।।
यो गीत गाउँदै हुर्केको पुस्ता हो तपाईँ। समयक्रमसँगै यही गीतलाई आज पनि मन पराउने पुस्ता हो हामी।
अन्यायका विरुद्ध लडेका पुर्खाहरूको इतिहासले गर्भीत हुने । जुठोमा नबिक्ने । झुठो नसहने । पसिनामा विश्वास गर्ने । कर्मको मर्मलाई श्रद्धा गर्ने ।
सर्वे भवन्तु सुखिनःसर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।
यही कुरालाई आदर्श, जीवन र भोगाइ बनाउँदै आएका हामी ।
सर्वोच्च कार्यकारी अभिभावकको ठाउँमा रहँदा हिजो आजका कुराले तपाईँको कति दिल दुखेको होला।
म कल्पना पनि गर्न सक्दिन प्रधानमन्त्रीज्यू , हाम्रै छिमेकी देशमा नेपाली चेलीले संशयपूर्ण मृत्युवरण गर्दा न्याय होइन तिरस्कारको पहाडले च्यापिनुपर्ने,
“तिम्रो देशको बजेट मेरो कलेज को वार्षिक खर्च जति पनि छैन” भन्ने अभिव्यक्तिले तपाईँलाई कति छिया छिया पार्यो होला ।
“नेपालले पाएको र लिएको अनुदानहरू भ्रष्टाचारका लागि अवसर हुन् । नेपालको शासन, प्रशासन र विकास अपारदर्शी र फ्रड छन् ।” यी र यस्तै अभिव्यक्तिले विश्व गुन्जायमान हुने गरी अमेरिकाबाट महामहिमले बोल्दा तपाईँलाई सहन गर्न कति गाह्रो भयो होला ?”
यी त हिजो आज अभिव्यक्त भएका नेपाल र नेपालीले सहन गर्नुपरेका हेपाइका उदाहरण हुन् ।
मलाई विश्वास छ। तपाईँलाई सही तथ्याङ्कहरूले सेकेन्ड सेकेन्डमा पिरोलेको छ। केही तथ्यहरु अरुचिपूर्ण भएपनि राख्ने अनुमति चाहन्छु:
जाबो ५७ खरबको जिडीपी भएको यो देशमा प्रत्येक घण्टा १५ करोड व्यापार घाटा सहन गर्नुपरेको छ। करिब ३ करोड जनसङ्ख्या भएको यो देशमा प्रत्येक घण्टा ८८ जनाले देश छोडेका छन्। नेपाली नागरिकता त्याग गर्नेहरूको सङ्ख्या आकासिएको छ। रोजगारी भन्नासाथ विदेशमा, राजस्व भन्नासाथ आयात गरिएको वस्तुमा, प्रभावकारी शिक्षा र स्वास्थ्य भन्नासाथ निजी क्षेत्रमा निर्भर रहने अवस्थाले कुन राष्ट्रभक्त नेपालीको मन खुसी होला ???
शासनको होस् या सुशासनको,
नियमनको होस् या गुणस्तरको,
विधिको होस् या जवाफदेहिताको,
नीतिको होस् या नैतिकताको,
स्वाभिमानको होस् या सिमानाको रक्षा,
कुनै पनि सूचकले नेपालीको शिर उच्च बनाउन सकेको छैन।
प्रधानमन्त्रीज्यू माथि उल्लेखित अरुचिकर तथ्यहरू सृजना हुनुमा केही अंश दोष मेरो पनि छ । म जस्तै अरु नेपालीको पनि छ। यही बेलामा एउटा सत्य तपाईँ समक्ष राख्न चाहन्छु।
“एथा राजा तथा प्रजा”
तपाईँ र तपाईँजस्तै अगुवाहरुले चाह्यो भने तथ्यहरू फेरिनेछन् ।
अन्त्यमा प्रधानमन्त्रीज्यू,
तपाईँ देशको सर्वोच्च कार्यकारी प्रमुख हुनुहुन्छ। आम नेपालीको अभिभावक हुनुहुन्छ। त्यसैले तपाईँसँग यी अपेक्षा गरेको छु:
तथ्यमा टेकेर भ्रष्टाचार हुन दिन्न भनेको सुन्न चाहन्छु।
शासनको गरिमालाई आत्मसाथ गरेर विधिको शासनको चर्चा गरेको सुन्न चाहन्छु।
भुई मान्छेको अनुभूतिको धड्कन बुझेर सरकारको प्रभावकारिताको वकालत गरेको सुन्न चाहन्छु।
बरु गिठा भ्याकुर नै खाएर पाँच सात वर्ष बिताउन किन नपरोस् मेरो नेता इमान्दार राष्ट्रभक्ति छ भन्ने विश्वासले शिर निहुराउन चाहन्छु।
प्रधानमन्त्रीज्यू तपाईँलाई सहन गर्ने शक्ति मिलोस्। राष्ट्रको जिम्मेवारी बहन गर्ने शक्ति मिलोस्।
प्रकाशित : २०८१ फागुन ८ गते २१:२२
Facebook Comment