दशैँ सुरु भए सँगै नवलपुरमा मापसे गरेर सवारी चलाउने १ सय जना प्रहरी कार्वाहीमा

NAWALPUR TIMES

दशैँ सुरु भए सँगै नवलपुरमा मापसे गरेर सवारी चलाउने १ सय जना प्रहरी कार्वाहीमा
1697868422515

कावासोती। दशैँ सुरु भए पछि नवलपुरमा तिब्र पारिएको प्रहरी चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरेर सवारी साधान चलाउने १ सय जना सवारी चालक ट्राफिक प्रहरी कार्वाहीमा परेका छ्न ।

सुरक्षित सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी, सवारी दुर्घटना न्यूनीकरणका लागि गाउँ गाउँमा ट्राफिक प्रहरी’ भन्ने मूल नाराका साथ प्रहरीले चलाएको अभियानमा सवारी नियम उल्लङ्घन गर्ने, बढी भाडा लिने, छतमा यात्रु राख्ने, झुण्डिएर यात्रा गर्ने, मोटरसाइकलमा तीन जना चढ्ने, विना हेलमेट हिड्ने ३ सय ८६ सवारी साधन समेत कार्वाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक अच्युतराज आचार्यले जानकारी दिए ।

चाडपर्वको समयमा यात्रुको चाप बढी हुने, छतमा झुण्डिएर यात्रा गर्ने र मादक पदार्थ सेवन गरेर सवारी साधान चालाउने काम भइरहेकोले त्यसलाई कडाईका साथ चेकजाँच गर्ने काम गरिएको प्रमुख आचार्यले बताए । उनका अनुसार जिल्लाको पहाडी क्षेत्र जोडने मुख्य सडकहरु दलदले-धौवादी-डेढगाँउ तथा गैंडाकोट हुँदै जाने कालीगण्डकी करिडोरमा समेत प्रहरी चेकिङ्गलाई तिब्रता दिईएको छ । ग्रामीण क्षेत्रलाई विशेष लक्षित गरी सचेतनामूलक गरिरहेको र कार्यक्रम सवारी चालक, यात्रु र सर्वसाधारणमा केन्द्रित रहेको उनले बताए ।

यसै बिच नवलपुर प्रहरीले यात्रुहरुको सहजताको लागि त्रिवेणी नाका सहित जिल्लाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ भने चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालयले चाडपर्व अवधिभर ३२४ जना प्रहरी परिचालन गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी बेदबहादुर पौडेलका अनुसार चाडपर्वको अवधी भर सवारी दुर्घटना, ट्राफिक नियमको उल्लघन, अवैध सामाग्री, लागुऔषध, अवैध घरेलु मदिरा, पटका  ओसार पसार लगायतका गतिविधि रोक्न राजमार्ग एवम् सीमानाका लगाएतका जिल्लाका १६ स्थानमा प्रहरी चेकिङ्ग सुरु गरिएको छ ।

पुर्व पश्चिम राजमार्गमा सवारी गस्ती, राजमार्ग तथा अन्य सुरक्षा संवेदनशिल १९ स्थानहरुमा प्रहरी परिचालन, बजार तथा ग्रामीण ईलाकामा मोटरसाइकल गस्ती,ग्रामीण ईलाकाको शान्ति सुरक्षाका लागि पैदल गस्ती तथा ग्रामीण गस्ती परिचालन, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सरोकारवाला निकायहरुसँग समन्वय गरी बजार अनुगमन गर्न प्रहरी परिचालन, जुवातास, प्राकृतिक श्रोतको चोरी, तस्करी, खोडखोडे, कौडा लगायतका अवैध गतिविधि नियन्त्रण गर्न सादा पोशाकमा प्रहरी परिचालन, चाडपर्वको समयमा हुन सक्ने चोरी, सार्वजनिक सवारी साधनमा लुटपाट, पकेटमारी लगायतका आपराधिक तथा दुर्व्यवहारजन्य घटनाहरु हुन नदिन ४ वटा प्रहरी इकाईबाट २/२ जना प्रहरी परिचालन गरी  सेफ्टी पिन कार्यक्रम सन्चालन समेत गरेको पौडेल जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology