धुलोले ढाकिएको दाउन्ने जहाँ दिउँसै बत्ती बाल्नु पर्छ

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ २८ गते १९:५२
धुलोले ढाकिएको दाउन्ने जहाँ दिउँसै बत्ती बाल्नु पर्छ
received 475898374732607

नारायण शर्मा/कावासोती । निर्माणाधीन बुटवल-नारायणगढ सडकको दाउन्ने खण्ड धुलाम्मे भएको छ । दाउन्नेदेखि बर्दघाटसम्मको ७ किलोमिटरमा धूलो उडेर दिउँसै राजमार्ग र गाडी देखिँदैन । जसले दुर्घटना जोखिम बढेको सरोकारवाला बताउँछन् । उक्त खण्ड भएर गुड्ने सवारी साधनमा दिउँसै बत्ति बाल्नु पर्ने र हर्न बजाउनु पर्ने अवस्था छ ।

दाउन्ने बजारदेखि पश्चिमतर्फ बर्दघाटसम्मको राजमार्गअन्तर्गत पर्ने जंगल क्षेत्रमा पनि धूलोले अन्धकारमय बन्ने गर्छ । मोटरसाइकल र स्कुटरका यात्रुले बाटो नदेखेर बत्ति बाल्ने, हर्न बजाएर यात्रा गरिरहेका हुन्छन् । बर्दघाटको चिसापानीबाट अरुणखोला घर मोटरसाइकलमा जाँदै गरेका इन्द्र काफ्लेले आफू दिनहुँ दुई जोर कपडा हालेर बैंकको जागिर खान मोटरसाइकलमा आउजाउ गर्ने गरेको बताए । ‘अफिस पुग्दा धूलोले मान्छे चिनिँदैन अनि कपडा फेर्छु,’ धुलाम्य सडकमा भेटिएका काफ्लेले भने, ‘यो सडक हेर्ने नेपाली हाकिमहरु के रमित हेरेर बसेका होलान् ?”पछाडिबाट आउने ठूलो गाडीले हान्ला भन्ने त्रासले साइडलाइट बालेर, हर्न बजाएर बस्छु,’ काफ्ले भन्छन्, ‘देशकै मुख्य लाइफलाइन मानिने महेन्द्र राजमार्गको यस्तो दुर्दशा अन्यत्र संसारमै छैन होला ।’

दाउन्नेमा होटल संचालक विष्णु गुरुङ भन्छन्, ‘अन्यत्र सडकमा कहिलेकाहीं पानी हालेको देखिन्छ त्यो क्षेत्रमा पानी हालेको आजसम्म थाहा छैन ।’ राजमार्गमा गुड्ने चारपांग्रे साधनका अघि-पछि पर्ने दुईपांग्रे र साना गाडीको बिजोग छ । त्यहाँ राजमार्गको पुरानो पिचसमेत भत्काएर फालेका कारण खाल्डैखाल्डा छ । ‘मोटरसाइकल र स्कुटरका यात्रुले सडकमा आफू पनि छु भन्ने जानकारी दिन दिउँसै बत्ती बालेर हर्न बजाएर बस्छन्,’ गुरुङ भन्छन्, ‘धूलोले सडक खाल्डा केही देखिन्न । दुर्घटनाको जोखिम उच्च छ ।’

 

बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी सडक निर्माणको ठेकेदारलाई जति भने पनि सुनुवाइ नभएकाले आफू आजित भइसकेको बताए । उनले सडक निर्माणको अनुगमन गर्ने सडक विभागका अधिकारीहरु के हेरेर बस्छन् ? भन्ने प्रश्न गरे । सडक निर्माणको जिम्मा चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले लिएको छ ।

प्रकाशित : २०८० जेठ २८ गते १९:५२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI