तापक्रमको रेकर्ड ब्रेक: दुम्कौलीमा ४४ वर्ष यताकै उच्च

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ २६ गते १७:३४
तापक्रमको रेकर्ड ब्रेक: दुम्कौलीमा ४४ वर्ष यताकै उच्च
1686282646057 1

कावासोती  । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ। केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर (लु) जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन ।

उनका अनुसार यस वर्ष यही जेठ २४ गतेसम्मको तथ्याङ्कमा सबैभन्दा बढी ४३ दशमलव आठ डिग्री तापक्रम रेकर्ड भएको छ। शुक्रबार दिउसो यहाँ तापक्रम ४४ डिग्री पुगेको छ । यसअघि नेपालमा सन् १९९५ को जुन ५ मा धनगढीमा ४६ दशमलव चार डिग्री तापक्रम मापन भएको थियो। यो नेपालकै सबैभन्दा बढी मापन हो। यसपालि तराईका जिल्लाका साथै पहाडी क्षेत्रमा पनि विगत केही वर्षको तुलनामा रेकर्ड ब्रेक भएको पाइएको छ।

मौसमविद् शान्ति कँडेलले सन् २०२३ को तापक्रम विश्लेणण गर्दा धेरै स्थानमा अधिकतम तापक्रमको ‘रेकर्ड ब्रेक’ भइसकेको बताइन।

नवलपुरको दुम्कौलीमा ४३ दशमलव आठ डिग्री ताफक्रम पुगेको र बुधबारसम्मको तथ्याङ्कमा यो रेकर्ड यस वर्षकै सबैभन्दा बढी मापन हो। नवलपुरको दुम्कौलीमा भने पहिलो पटक ‘रेकर्ड ब्रेक’ भएको हो। यसअघि त्यहाँ सन् १९७९ मा ४३ दशमलव ७ डिग्री तापक्रम पुगेको थियो। उनका अनुसार तराईमा मात्रै होइन पहाडी क्षेत्रमा पनि तापक्रमले ‘रेकर्ड ब्रेक’ गरेको छ।

ओखलढुङ्गामा सन् १९९९ मा सबैभन्दा बढी ३० दशमलव ९ डिग्री तापक्रम रेकर्ड भएकामा यसपालि त्यहाँ पनि ‘रेकर्ड ब्रेक’ भएर ३१ दशमलव नौ डिग्री पुगेको छ। धरानमा सन् २०१३ मा सबैभन्दा बढी ३८ दशमलव आठ डिग्री तापक्रम मापन गरिएकामा यसपालि सन् २०२३ को जुन ७ ९हिजो बुधबार० ३९ दशमलव तीन डिग्री पुगेको थियो।

यस्तै इलामको कन्याममा सन् १९९३ मा २९ डिग्री रेकर्ड भएकामा यसपालि यही ५ तारिखमा ३० डिग्री मापन भई ‘रेकर्ड ब्रेक’ भएको कँडेलले बताइन।

उनका अनुसार यो समाचार तयार पार्दा कपिलवस्तुको तौलिहवामा ४२ डिग्री  तापक्रम छ। यस्तै चितवनको रामपुरमा ४१ दशमलव सात, सिमरामा ४१ दशमलव एक, जनकपुरमा ४० दशमलव सात डिग्री तापक्रम छ। काठमाडौँमा हिजोको तापक्रम ३२ दशमलव आठ पुगेकामा अहिले भने ३१ डिग्री रहेको जनाइएको छ। विगतमा काठमाडौँमा ३६ दशमलव छ डिग्रीसम्म तापक्रम रेकर्ड भएको अभिलेख छ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमार्फत काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र तराई भू–भागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको उल्लेख गरेको छ। विभागले यस्तो अवस्थामा आगामी केही दिनसम्म देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिकरुपमा बढ्ने देखिन्छ।

हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ। तसर्थ देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावाको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ। पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना देखिएको मौसमविद्ले बताए।

प्रकाशित : २०८० जेठ २६ गते १७:३४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI