वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै पिप्रहर

वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै पिप्रहर
IMG 20230401 WA0002

कावासोती (रासस) : चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम सेक्टरबाट समेत निकुञ्ज भित्र जंगल सफारीको अनुमती दिए पछि नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्ज भित्र जंगल सफारी सुरु भएको छ । यो सँगै चितवन राष्ट्रिय निकुञ्ज भित्रको कोर एरियामा गैँडा सहितका वन्यजन्तु अवलोकन गर्नका लागि सौराहा पुग्नु पर्ने बाध्यता हटेको हो ।

एक साता अगाडी नवलपुरको शिख्रौलीमा रहेको निकुञ्जको गिद्धेनी पोस्ट बाट निकुञ्ज भित्र रहेको आईसल्याण्ड जंगल रिसोर्ट सम्मको करिब ५५ किलोमिटर लामो पर्यटन मार्गको उदघाटन भए सँगै देवचुली-१७ मा रहेको पिप्रहर होमस्टेबाट जंगल सफारीको सुरुवात गरिएको छ ।

होमस्टे होटल तथा पर्यटन व्यवसायी समितिको पहलमा दुई वटा गाडीको प्रयोग गरेर शुक्रबार देखि यस क्षेत्र भित्र औपचारिक रुपमा जंगल सफारीको सुरुवात गरिएको छ । निकुञ्जको पश्चिम सेक्टरको जंगलको मध्य भागमा सुरु भएको जंगल सफारी वन्यजन्तु पारखीका लागि महत्त्वपूर्ण साबित हुने जंगल पर्यटन मार्ग निर्माण समितिका अध्यक्ष एवं पर्यटन व्यवसायी सन्तोष धिताल बताउनु हुन्छ ।

शुक्रबार औपचारिक रुपमा सुरु गरिएको जंगल सफारीको क्रममा ३ घण्टाको समयमा १४ वटा सम्म एक सिङ्गे गैँडा फेला परेका देवचुली-१७ का वडा अध्यक्ष गणेश शर्मा चालिसेले बताउनु भयो । पिप्रहर होमस्टे नजिकै रहेको निकुञ्जको कुजौली पोस्ट बाट प्रवेश गरिने यो रुट भएर जंगल सफारी गर्दा धेरैको संख्यामा एक सिङ्गे गैँडा मात्रै होइन दुर्लभ प्रजातिको पाटेबाघ , भालु तथा धेरै संख्यामा चराचुरुङ्गीको अवलोकन गर्न पाईने भएकाले जंगल सफारी गर्नेका लागी यो रुट निकै महत्त्वपूर्ण हुने
होमस्टे होटल तथा पर्यटन व्यवसायी समितिका अध्यक्ष प्लटप्रसाद चौधरी बताउनु हुन्छ । वन्यजन्तु अवलोकनका लागि अब नवलपुर र त्यसमा पनि नवलपुरको पिप्रहर नयाँ र महत्त्वपूर्ण गन्तव्य बन्ने तथा यसले सिङ्गो नवलपुरको पर्यटन तथा आर्थिक गतिविधिलाई माथी उठाउने अध्यक्ष चौधरीको भनाई छ ।

पहिलो दिनकै सफारीमा १४ वटा सम्म गैँडा देखिए पछि उत्साहित भएका यस क्षेत्रका पर्यटन व्यवसायी सफारीमा प्रयोग गरिने जिपको संख्या बढाउने तयारीमा जुटेका छन । अहिले भएको दुई वटा जिप यस क्षेत्रका होमस्टे सन्चालक र पर्यापर्यटन सँग जोडिएका होटलहरुले सामुहिक रुपमा खरिद गरेर सन्चालन गरेका छ्न । जिप खरिद मात्रै होईन सफारीबाट आएको आम्दानी समेत समिति मार्फत लगानीको आधारमा व्यवसायीलाई बाडिने गरेर सामुहिक अवधारणामा जंगल सफारीको सुरुवात गरिएको पर्यटन व्यवसायी सन्तोष धितालले जानकारी दिनु भयो ।

पुर्व पश्चिम राजमार्गको नारायणघाट बाट करिब ३० किलोमिटर पश्चिम यात्रा गरे पछि रजहर बजारबाट दक्षिण तर्फ करिब १.५ किलोमीटर यात्रा पिप्रहर पुगिन्छ । यहाँ घुम्न आउने पर्यटकका लागि बास बस्नका लागि सामुदायिक रुपमा स्थापना गरिएको २२ वटा होमस्टेहरु सन्चालनमा छ्न भने साना र ठुला गरेर यस क्षेत्रमा डेढ दर्जन बढी राम्रा होटलहरु सन्चालनमा आएका छ्न । गैँडा लगाएतका वन्यजन्तु अवलोकनका लागि आउने आन्तरिक तथा बाहय पर्यटकलाई होमस्टे सँगै रहेको निकुञ्जको कुजौली पोस्टबाट प्रवेश दिने गरिएको छ । नेपालकै दोस्रो लामो जंगल सफारीको रुट दाबी गरिएको यस क्षेत्रबाट करिब ५५ किलोमिटर लामो जंगलको यात्रा गर्दा धेरै संख्यामा गैँडा सहितका वन्यजन्तु देखिने भएकाले पनि गैँडा सहितका वन्यजन्तु अवलोकनका लागि पिप्रहर नयाँ गन्तव्यको रुपमा विकास भएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology