निकुञ्जको ढिलासुस्तीले सामुदायिक वनका काठ कुहिन थाले

NAWALPUR TIMES

निकुञ्जको ढिलासुस्तीले सामुदायिक वनका काठ कुहिन थाले
received 1608061319659181

कावासोती(रासस) । पूर्व–पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक विस्तारको क्रममा पूर्वी नवलपरासीको सामुदायिक वनमा काटिएका काठ दाउरा कुहिदै जान लागेका छन्।

सडक विस्तारको क्रममा जिल्लाको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनका तीन हजार आठ सय ३१ वटा रुख काटेर सम्बन्धित वनको घाटगददीमा राखिएका काठ दाउरा कुहिन लागेका छन्।

जिल्लाको सिख्रौली, शिसवार, लामिचौर उपभोक्ता समिति अन्तर्गतका पाँचवटा मध्यवर्ती वनमा करिब तीन वर्ष अगाडि ठूलो मात्रामा काठ दाउरा काटेर राखिएको छ। सामुदायिक वन समितिले उपभोक्तालाई वितरण गर्न नपाउँदा कुहिएर काम नलाग्ने अवस्थामा पुगेको कावासोती १२ स्थित राजरत्न सामुदायिक वनका अध्यक्ष विष्णु लम्सालले बताए। “सडक निर्माण कम्पनी या चितवन राष्ट्रिय निकुन्ज कस्को कारणले रोकिएको हामीलाई जानकारी छैन, वनमा काठ कुहिएर काम नलाग्ने अवस्थामा छन”, लम्सालले भने।

नारायणघाट बुटवल सडक आयोजना विस्तार गर्ने क्रममा काठ र दाउरा आफुहरुले सम्बन्धित सामुदायिक वनमा घाटगददीमा सुरक्षा गार्डको निगरानीमा राखिएको भएपनि चितवन राष्ट्रिय निकुन्जले आवश्यक प्रक्रिया ढिलो गरेका कारणले काठ र दाउरा सामुदायिक वनका उपभोक्ताले पाउन नसकेको सडक आयोजना कावासोती कार्यालयका प्रोजेक्ट म्यानेजर राकेश झाले बताए।

सडक आयोजना विस्तारको क्रममा निमार्ण कम्पनी, चितवन राष्ट्रिय निकुन्ज र उपभोक्ता समिति सहितको बैठकले रुख काटी निस्किएका काठ र दाउरा सम्बन्धित सामुदायिक वनलाई दिने गरी सहमति भएको लामिचौर उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडलले बताए।

केही प्रक्रियागत कुराले रोकिएको र छिट्टै उपभोक्ताले पाउने गरी वितरण हुने निकुन्ज कार्यालयबाट आफूले जाकारी पाएको पौडेलले बताए। रुख काटेर घाटगददी गरिएलगत्तै कोरोना कहर सुरु भएको हुँदा त्यो बेला वितरणको काम रोकिएको चितवन राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। उनले काठ दाउराको पुनः लगत सङ्कलनको काम सुरु गरिएको जानकारी दिए।

निमार्ण कम्पनीले घाटगददी गर्दा आवश्यक मापदण्ड नअपनाएको र त्यो बेला काठ दाउरामा लगाइएका सङ्केत मेटिएकाले फेरि लगत सङ्कलन गरिएको उनको भनाइ थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology