प्रजातन्त्रका सेनानी सापकोटाको निधन

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक २३ गते १७:०७
प्रजातन्त्रका सेनानी सापकोटाको निधन
1667989005501

कावासोती । प्रजातान्त्र सेनानी तिलकप्रसाद सापकोटाको ७९ बर्षको उमेरमा बुधबार बिहान निधन भएको छ ।

प्रजातान्त्रिक सेनानी संघका केन्द्रीय सदस्य तथा प्रजातान्त्रिक योद्धा सापकोटाको सेन्ट्रल अस्पताल चितवनमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । केही समयदेखि सापकोटा श्वासप्रश्वास सम्बन्धी समस्याबाट प्रभावित हुनुभएको थियो ।

मंगलबार बेलुका स्वास्थ्यमा समस्या आएपछि सापकोटालाइ अस्पताल लगिएको थियो । सापकोटाको अन्त्येष्टि विदेशमा रहेका छोराहरु फर्किएपछि मात्र हुने पारिवारिक स्रोतले जनाएको छ ।

वि.सं. २००१ साल बागलुङ जिल्लाको दमेक रितिपमा जन्मिनुभएका सापकोटा समाजसेवा र राजनीतिको माध्यमबाट सामाजिक आर्थिक रूपान्तरणको अभियानका अभियान्ता हुनुहुन्थ्यो । सापकोटा नेपाली काँग्रेस गैँडाकोटका संस्थापक अभिभावक हुनुहुन्छ ।
शिक्षा, सञ्चार, कृषि–सिँचाइ, जीविकोपार्जन, सहकारी तथा सामाजिक संस्थाहरूको स्थापना र विकास, राजनीति तथा संस्कृतिका क्षेत्रमा बहुआयामिक नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएका सापकोटाले सामाजिक कार्य सँगसँगै राजनीतिलाई अघि बढाउनुपर्छ भन्दै सामाजिक कार्यसँगै राजनीति गर्नुभएको थियो ।

दैनिक उपभोग्य वस्तुहरू किनमेल गर्न घण्टौं पैदलयात्रा गर्नुपर्ने अवस्थामा संगठित एवं व्यवस्थित बसोबास गर्नुपर्ने कुरालाई ध्यानमा राखी २०२२ सालमा नै कुस्मीसेरा बजारको स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । जल सिँचाइको अभावमा खेर गइरहेको जमिनलाई उर्वर बनाउन सकिन्छ भन्ने अठोटका साथ गैँडाकोटमा जयश्री सिँचाइ कुलो निर्माणमा १३ वर्ष अनवरत संघर्ष समेत गर्नुभएको थियो ।

युवा सशक्तीकरण र जनचेतनाका लागि सामाजिक संगठनको आवश्यकतालाई मनन गरी वि.सं। २०३६ सालमा विजय युवा क्लब ९हाल विजय विकास स्रोत केन्द्र० को स्थापनामा प्रमुख उत्प्रेरकको भूमिका निर्वाह समेत गर्नुभएको थियो । वि.सं २०३३ सालमा कालिका मा।वि। स्थापना, संस्कृत भाषा साहित्यको विकास र आयुर्विज्ञानको प्रवद्र्धनको उद्देश्यले कालिका संस्कृत विद्यापीठको स्थापना गर्न र विद्यापीठलाई नेपाल संस्कृत विश्वविद्यालयबाट आङ्गिकता प्राप्त गराउन उहाँको भुमिका थियो । उहाँ विद्यापीठका संस्थापक एवम् वर्तमान अध्यक्ष समेत हुनुहुन्थ्यो् ।

वि.सं २०१७ सालमा बोल्न पाउनुपर्छ भनी तत्कालीन अञ्चालाधीशका अगाडि नारा लगाएपछि १४ महिना उहाँ जेल चलान हुनुभएको थियो । २०३६, २०४२ र २०४६ सालमा प्रजातन्त्रिक आन्दोलनका क्रममा पटकपटक जेल पर्नुभएका सापकोटाको २०४६ मा तत्कालीन शासकद्वारा टाउकाको मूल्यसमेत तोकिएको थियो । उहाँको दैनीकिलाई आधार बनाएर आफैँले यात्रा निरन्तर पुस्तक प्रकाशनमा ल्याउनुभएको थियो ।

सापकोटा नेपाली कांग्रेसमा २०१५ सालदेखि रहनुभएको थियो । सापकोटाले जननेता बीपी कोइरालाबाटै कांग्रेसको सदस्यता लिनुभएको थियो । राजनीतिक यात्रामा सापकोटाले २०२८ सालपछि बागलुङ र नवलपरासी जिल्लाको पार्टी सचिवका रूपमा काम गर्नुभएको छ । आफू राजनीतिक र सामाजिक रुपमा स्थापित रहेको नवलपुर–१ मा कांग्रेसका तर्फबाट आफूले पाएको संसदीय टिकट नेता शशांक कोइरालालाई दिएर ३ पटकसम्म कोइरालालाई संसद् पठाउने त्यागी नेताका रुपमा सापकोटा चिनिनुहुन्छ ।

गैंडाकोट वाड नं८ मा स्थायी बसोबास रहनुभएका सापकोटाका श्रीमती, ७ छोरा र ४ छोरी रहेका छन् ।

प्रकाशित : २०७९ कार्तिक २३ गते १७:०७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI