चुनाव अगाडी लालपुर्जा वितरण नगर्न आयोगको भुमि आयोगलाई निर्देशन

NAWALPUR TIMES

चुनाव अगाडी लालपुर्जा वितरण नगर्न आयोगको भुमि आयोगलाई निर्देशन
Election Commission

नवलपुर । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण कार्य तत्काल रोक्न निर्देशन दिएको छ । बिहीबार आयोगले आगामी निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन सम्पन्न नभएसम्म आफू र आफ्नो मातहतबाट लालपुर्जा वितरण कार्य बन्द गर्न भूमि आयोगलाई निर्देशन दिएको हो ।

“आसन्न निर्वाचनमा स्वच्छता र निष्पक्षता कायम राख निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्यहरू तत्काल स्थगित गरी सोको यथार्थ जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन राष्ट्रिय भूमि आयोग, ताहाचल, काठमाडौंलाई निर्देशन दिएको छ,” आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै आयोगले सबै तहका सरकारलाई वैदेशिक भ्रमण नगर्न/नगराउन पनि निर्देशन दिएको छ । “सम्बन्धित आयोजक तथा प्रायोजकबाट सम्पूर्ण खर्चहरू बेहोर्ने गरी स्वीकृत गरिने वैदेशिक भ्रमणबाहेक नेपाल सरकारलाई प्राप्त हुने अनुदान तथा सहयोग रकमबाट र नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कोषबाट कुनै पनि रकम खर्च हुने गरी गरिने वैदेशिक भ्रमण नगर्न/नगराउन नेपाल सरकार, ७ वटै प्रदेश सरकार र ७५३ वटै स्थानीय तहहरूलाई निर्देशन दिएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुने तय भएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology