राहदानी पाउनै तीन महिना

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २४ गते १२:२२
राहदानी पाउनै तीन महिना
DAO nawalpur 1 768x363 1

कावासोती(रासस) : पुर्वी नवलपरासी मा राहदानी बनाउन तीन महिना सम्म पर्खिनु पर्ने बाध्यता रहेको छ ।

जिल्लाको मध्यविन्दु १५ का गोविन्द महतोले आवेदन दिएको करीब ३ महिना पछि मात्रै राहदानी हातम परेको बताए । गएको असार १९ गते फारम भरेका उनको बायोमेट्रीक गर्ने पालो करिब ४७ दिन पछि मात्रै आयो भने बायोमेट्रीकको एक महिना पछि मात्रै राहदानी उनले हात पारे ।

त्यस्तै गरि कावासोती १२ की निशा लम्सालले गत साउन १८ गते फारम भरेर टोकन लिएकी उनले बायोमेट्रीक गर्न ५१ दिन पछि अर्थात असोज ७ गते मात्रै पालो पाएकी बताउछिन ।

सरकारले विद्युतीय राहदानी अनिवार्य गरेपछी राहदानी बनाउन आउनेको संख्या बढेको र राहदानी बनाउनु अघि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेकाले राहदानी बनाउनका लागि लामो समय लाग्ने गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भयो । राहदानी बनाउन आउनेको भिड बढे सँगै जिल्ला प्रशासन कार्यालयले टोकन सिस्टम सूरु गरेको छ ।

भुसालका अनुसार राहदानीका लागि एक दिनमा अधिकतम एक सय जनाको मात्रै बायोमेट्रिक गर्न सक्ने अवस्था छ । पर्याप्त कर्मचारी र बायोमेट्रिक गर्ने मेसिनको कमिले मुस्किलले एक सय जना सम्मको बायोमेट्रिक हुने गरेको हो । कर्मचारीको र बायोमेट्रिक गर्ने मेसिन कम हुँदा राहदानीको आवेदन फारम भरेको करिब दुई महिना पछि मात्रै बायोमेट्रिक गर्ने पालो आउने गरेको छ । बायोमेट्रिक गरे पछि पनि राहदानी सेवाग्राहीको हातमा पर्न थप एक महिना जति लाग्ने भुसालले बताउनु भयो ।

कोभिड १९ सुरु भए पछि रोकीएको विदेश भ्रमणहरु पनि अहिले सहज रुपमा सुचारु भएकाले पासपोर्ट बनाउन आउनेहरुको संख्या बढेको भुसालले बताउनु भयो। भुसालका अनुसार राहदानी बनाउन आउनेहरुमा धेरै युवाहरु रहेका छ्न । त्यसमा पनि वैदेशिक रोजगार र उच्च शिक्षाका लागि विदेश जानेहरुबाट राहदानीका लागि धेरै आवेदन आउने गरेको छ ।

गएको आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षको सुरुवात देखिनै राहादानी बनाउनेको संख्या ह्वातै बढेको छ । भुसालका अनुसार गत आ.व २०७८÷७९ मा ९ हजार ६ सय ७५ जनाले राहदानी बनाएकोमा चालू आ.वको पहिलो महिना साउनमा २ हजार ६ सय ८४ जनाले राहदानी बनाउन फारम भरेका छ्न ।

राहदानी बनाउन आउनेको संख्या बढेको तर बायोमेट्रिक गर्ने कर्मचारी र मेसिन पर्याप्त नहुदा राहदानी पाउनको लागि लामो समय लाग्ने गरेको हो ।

यसै बिच राहदानीबाटमात्रै जिल्लामा कार्यालयले गत एक वर्षमा मात्रै ५ करोड बढि राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रसासन कार्यालयले राहदानीबाट ५ करोड एक लाख ३८ हजार ५ सय राजस्व संकलन गरेको जिल्ला प्रसासन कार्यालय नवलपुरका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भयो । यो अवधिमा ७ हजार ४ सय ५ जनाले साधरण राहदानी र १ हजार ४ सय ७६ जनाले विद्युत्तीय राहदानी बनाएका भुसालले बताउनु भयो ।

भुसालका अनुसार आ.व २०७७/७८ मा २ करोड ३४ लाख ३५ हजार, आ.व ७६ /७७ मा २ करोड ४७ लाख ६७ हजार५सय , र आ.व ७५/७६ मा ३ करोड ३८ लाख ८७ हजार ५ सय रुपिया राजस्व संकलन भएको हो ।

प्रकाशित : २०७९ भदौ २४ गते १२:२२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI