नवलपुरमा सवारी दुर्घटनामा परी ४६ जनाले ज्यान गुमाए

NAWALPUR TIMES

नवलपुरमा सवारी दुर्घटनामा परी ४६ जनाले ज्यान गुमाए
nawalpur 1

कावासाेती।  नवलपुरमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ४६ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा भएको १३२ सवारी दुर्घटनामा परेर उक्त सङ्ख्यामा ज्यान गुमाएका हुन्।

ज्यान गुमाउनेमा सबैभन्दा बढी पुरुष ४० जना रहेका छन् भने महिला चार र ज्यान गुमाउने बालकको सङ्ख्या दुई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीको तथ्याङ्कमा उल्लेख छ ।

दुर्घटनामा परी गम्भीर घाइते हुनेमा १३५ जना छन्। गम्भीर घाइते हुने पुरुष १००, महिला २०, बालक आठ र बालिका सात रहेका छन् । यसैगरी सामान्य घाइते हुनेको सङ्ख्या ८५ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

गत वर्ष ८६ वटा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी पदम बडूले जानकारी दिए। त्यसपछि जिप/कार २६, ट्रक/ट्याङ्कर २३, ट्र्याक्टर १५, बस १३, टेम्पो १०, साना सवारी आठ, टिपर पाँच, माइक्रो तीन र अन्य एक गरेर गत वर्ष जिल्लामा १९० सवारी दुर्घटनामा परेको बडूले बताए।

सबैभन्दा बढी दुर्घटनामा पर्ने मोटरसाइकल रहेको छ । दुर्घटना पर्नेमा अधिकांश पुरुष छन् भने त्यसमा पनि धेरैजसो युवाले ज्यान गुमाएका छन् । दुर्घटनाको मुख्य कारणमध्ये एक चालकको लापरवाही हो।

युवापुस्ताहरुले तीव्रगतिमा सवारी चलाउने, सवारी चलाउँदा मोबाइल फोनको प्रयोग गर्ने तथा जस्तो ठाउँमा पनि ओभरटेक गर्दा मोटरसाइकल बढी दुर्घटनामा पर्ने गरेको पाइएको उनले बताए।

पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्डमा सडक जीर्ण भएकाले समेत कतिपय दुर्घटना हुने गरेका छन्। चार लेनमा सडक विस्तारको क्रममा रहेको छ । यस क्रममा धेरैजसो ठाउँमा लामो समयसम्म सडक मर्मत नगर्दा ठूला–ठूला खाडल परेका छन् । यसले समेत दुर्घटना बढाएको छ।

यसैबीच गत आवमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीले रु एक करोड ११ लाख ५४ हजार ५०० राजश्व सङ्कलन गरेको छ । विभिन्न सवारी साधन गरी १८ हजार १४५ वटा सवारी कारवाहीबाट उक्त रकम राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी बडूले बताए। रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology