विघटित आयोगले गर्यो कार्य प्रगति सार्वजनिकः नवलपुरमा ३३६३५ वटा भूमि सम्वन्धी समस्या पहिचान

NAWALPUR TIMES

विघटित आयोगले गर्यो कार्य प्रगति सार्वजनिकः नवलपुरमा ३३६३५ वटा भूमि सम्वन्धी समस्या पहिचान
1628174193059

खगेन्द्र पराजुली/नवलपुर ।

बिघटित भूमि सम्वन्धी समस्या समाधान आयोग नवलपुरले ६ महिनामा भए गरेका कार्य प्रगति सार्वजनिक गरेको छ । जिल्ला समन्वय समितिको कार्यालयमा आज बिहीवार पत्रकार सम्मेलन गरी जिल्ला आयोगले प्रगति विवरण सार्वजनिक गरेको हो ।

आयोगका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा सदस्य रामकृष्ण ढुंगानाले विवरण प्रस्तुत गरे ।
ढुंगानाले गण्डकी प्रदेशमै सवैभन्दा धेरै भूमिसम्वन्धी समस्या नवलपुरमा रहेको विवरण प्रस्तुत गरे ।

२०६६ सालको मनशोभा आयोग लगायत यसअघिका आयोगले काम शुरु गरेका तर सम्पन्न हुन नसकेका ३ हजार चार सय ८७ निवेदन रहेको जानकारी गराईएको थियो । ढुंगानाका अनुसार प्रदेशभरि यो किसिमको समस्या ७ हजार ५ सय ३ रहेको छ ।

यस्तै, भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अब्यवस्थित बसोबासी गण्डकीमा ९३ हजार हाराहारी रहँदा नवलपुरमा मात्रै ३३ हजार ६ सय ३५ रहेको छ । नवलपुरमा भूमिहीन दलित २हजार ४ सय २३, भूमिहीन सुकुम्वासी ५ हजार ३ सय ५ र अब्यवस्थित बसोबासी २९ हजार ९ सय ७ रहेको छ ।

विघटित आयोगका अध्यक्ष कृष्ण घिमिरेले राजनैतिक आग्रह पुर्वाग्रहमा आयोग खारेज गर्नु बर्तमान सरकारले गल्ती गरेको आरोप लगाए । उनले अहिलेसम्मकै ब्यवस्थित र बैज्ञानिक आयोग बनेको र आयोगले छोटो समयमा धेरै प्रगति हासिल गरेको दावी गरे ।

२०७७ माघ १९ गते नवलपुरको अध्यक्षमा नेकपा एमालेका कृष्ण घिमिरे, विज्ञ सदस्यमा एमालेकै रामकृष्ण ढुंगाना र जोगमाया महतोले आयोगमा नियुक्ति पाएका थिए । आयोगले फागुन २० गते कार्यालय उद्घाटन गरी औपचारीक रुपमा काम थालेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology