भुक्तानी नपाएका ठेकेदारद्वारा कावासोतीमा रहेको चिनियाँ ठेकेदार कम्पनीको कार्यालय घेराउ

NAWALPUR TIMES

भुक्तानी नपाएका ठेकेदारद्वारा कावासोतीमा रहेको चिनियाँ ठेकेदार कम्पनीको कार्यालय घेराउ
thumb 2

नारायण शर्मा/पूर्वी नवलपरासी — बुटवल-नारायणगढ सडक निर्माणको ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनीले गत ३ वर्षदेखिको भुक्तानी नदिएको भन्दै स्थानीय ठेकेदारहरूले कावासोतीमा रहेको चिनियाँ ठेकेदारको कार्यालय घेराउ गरेर विरोध प्रर्दशन गरेका छन् । उनीहरूले ठेकेदारको कार्यालय अगाडि आफ्ना गाडी राखेर विरोध प्रर्दशन गरिरहेका छन् ।

बुटवल-नारायणगढ सडक निर्माणको ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडलाई सडक निर्माणका क्रममा सामान सप्लाई गर्न दिएका नेपाल मेसिनरी एक्जिमका सञ्चालक निर्मल सरावागीले ठेकेदार कम्पनीले रकम दिने भन्दै पटक-पटक भुक्काएर भुक्तानी नदिएका कारण आफूजस्तै ६ जना स्थानीय ठेकेदारले चिनियाँ कम्पनीको प्रशासन कार्यालय घेराउ गरेको जानकारी दिए ।

उनले सडक निर्माणका लागि चनियाँ ठेकेदार कम्पनीलाई स्टिल, फलाम, हार्डवेयर, प्लाइउडका सामान र मेसिनरी सामान सप्लाई दिएको तर ३ वर्षसम्म पनि भुक्तानी नपाएका कारण बाध्य भएर कार्यालय घेराउ गर्नु परेको सुनाए । उनले सामान सप्लाई गर्ने अन्य ६ वटा ठेकेदार कम्पनीले ६६ करोड रकम भुक्तानी नपाएको सुनाए । दाउन्नेदेखि नारायणगढसम्म सामान सप्लाई दिएका ठेकेदारहरूलाई रकम भुक्तानी नदिएको उनीहरूको भनाइ छ ।

‘भुक्तानी दिन्छु भनेर दर्जनौंपटक पत्र पठाएको छ । पत्र हामीसँग सुरक्षित छ तर भक्तानी दिँदै दिन्न‚’ सरावागीले भने‚ ‘सामान दिएको ३ वर्षभन्दा बढी समय भैसक्दा पनि भुक्तानी नपाएका कारण बाध्य भएर कार्यालय घेराउ गर्नु परेको हो।’

उनीहरूले कावासोतीको थकाली चोकदेखि दक्षिणमा रहेको चिनियाँ ठेकेदारको प्रशासन कार्यालयमा आइतबार बिहान साढे १० बजेदेखि कार्यालय घेराउ गरेका हुन् ।

बुटवल-नारायणगढ सडकखण्डको १ सय १४ किलोमिटर सडक विस्तार गर्न १७ अर्ब रुपैयाँमा ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनीले पहिलो ३ वर्ष अवधिको म्यादभित्र १९ प्रतिशतमात्र काम सम्पन्न गरेको छ । गत साउन २२ गते सडक निर्माणको काम सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख थियो ।

कावासोतीदेखि नारायणगढसम्मको ३२ किलोमिटर सडकखण्ड पार गर्न २ घण्टाभन्दा बढी समय लाग्छ । राजमार्ग निर्माण गर्न भन्दै ठेकेदार कम्पनीले पुरानो पिच उधिनेर छाडेका कारण राजमार्गमा खाल्डैखाल्डा छन् ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology