नरभक्षी बाघ भेटाउनै सकस

NAWALPUR TIMES

सन्जय भट्टराई/नवलपुर ।

नवलपुरको विनयी त्रिवेणी र मध्यविन्दु नगरपालिकामा विगत २ महिना अघि देखि २ जनाको ज्यान लिएको र एक जनालाई घाईते बनाएको नरभक्षी बाघको खोजी सुरु गरेको दुई हप्ता पुग्न लाग्दा पनि बाघको अवस्था पत्ता लाग्न सकेको छैन ।

गत पौष २८ गते देखि चितवन राष्ट्रिय निकुञ्जको ३ वटा हात्ती र प्राविधिकहरुको टोलिले खोजी गरिरहे पनि बाघ समात्न नसकेको हो ।

निकुञ्जले डिभिजन वनको अनुरोधमा घढियाल प्रजनन तथा वन्यजन्तु उद्धार शाखाका प्रमुख सरोजमणी पौडेलको नेतृत्वमा विज्ञ सहितको टोली पठाएर बाघको खोजी गरिएको भए पनि बाघ पत्ता लाग्न नसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य बताउछ्न । टोलिले बाघ निस्किन सक्ने सम्भावित स्थान सबै तिर क्यामरा राखेको भए पनि क्यामरा बाघ नपरेको आचार्य बताउछ्न ।

नरभक्षी बाघ खोजेर नियन्त्रणमा लिन खटिएका टोली प्रमुख घढियाल प्रजनन तथा वन्यजन्तु उद्धार शाखाका प्रमुख सरोजमणी पौडेलले वन क्षेत्र ठूलो भएको र बाघका पाईलाहरु धेरै फेला परेकाले नरभक्षी बाघको एकिन गर्न समस्या परेको बताए । “पाईला भेटिएकै आधारमा मान्छे खाने हो भनेर एकिन गर्न सकिँदैन, १५ दिन देखि बाघ क्यामरा परेको छैन,” पौडेलले भने । केही दिन अगाडि बाघले गोरु खाएको स्थान विनयी त्रिवेणी-५ मा बाघको मुमेन्ट हेर्न क्यामेरा राखिएको पौडेलले बताए । “१५ दिन अगाडी क्यामरा एक पटक रेकर्ड भएको बाघ त्यसपछि गत शुक्रबार सम्म क्यामरामा रेकर्ड भएको छैन, क्यामरामा रेकर्ड नहुदा सम्म नरभक्षी बाघ यहि भनेर एकिन गर्न गार्हो हुन्छ,” पौडेलले बताए ।

दुई महिना अगाडि मान्छे खाएको दुम्किबास र अरुणखोला बिचको वन क्षेत्रमा बाघको खोजी बढाईएको छ । मान्छेलाई आक्रमण गरेको स्थान आसपास बाघको पाईलाहरु देखिएकाले क्यामरा पर्ने र त्यसपछि बाघलाई नियन्त्रणमा लिने कुरामा पौडेल आशावादी देखिए ।

बाघ दिनकै १२ देखि १५/१६ किलोमीटर सम्म हिडडुल गर्ने भएकाले पनि एकै ठाँउमा नभेटिएको पौडेलले बताए । ३ वटा हात्ती र प्राविधिकको समुह वन क्षेत्रमा रहेकाले पनि बाघले स्थान परिवर्तन गरिरहेको उनी बताउछन । बाघ पत्ता नलाग्दा सम्म वन क्षेत्र प्रवेश नगर्न स्थानीयलाई आग्रह गरेको भए पनि स्थानीयहरु वन प्रवेश गर्दा थप समस्या भएको पौडेलले गुनासो गरे ।

मान्छेलाई आक्रमण गरेको बाघ एकिन हुन साथ थप प्राविधिक र हात्ती प्रयोग गरेर नियन्त्रणमा लिन तयारीमा निकुञ्ज रहेको छ । ठुलो जंगलमा बाघको खोजी कार्य जटिल र खर्चिलो भएको निकुञ्जको तर्क छ । तीनवटा हात्ती र १५, १६ जना प्राविधिकको खर्च दैनिक रुपमा ६५ हजार आसपास खर्च भएको निकुञ्ज स्रोतले बतायो ।

विगत दुइ महिना देखि २ जनाको ज्यान लिएको र २ जनालाई घाइते बनाएको बाघ नियन्त्रणमा न आउदा स्थानीयमा त्रास कायमनै रहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology