कोइरालाले लगातार १९ वर्षसम्म कांग्रेस मोरङको सभापति भएर पार्टीको नेतृत्व गरेका थिए । २०४८ सालमा तत्कालीन बिराटनगर नगरपालिकाका मेयरमा निर्वाचित भएका थिए ।
पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएका कोइरालाले राष्ट्रियसभा सदस्य हुँदै उपाध्यक्षसम्मको भूमिका निर्वाह गरेका थिए ।
मोरङ कांग्रेसका नेता विश्वनाथ रिजालका अनुसार कोइराला शेरबहादुर देउवा र रामचन्द्र पौडेलका दौंतरी थिए ।
नेपाल विद्यार्थी संघका संस्थापक मध्येका एक कोइराला देउवा संघको अध्यक्ष भएका बेला उपाध्यक्षको जिम्मेवारीमा थिए ।
पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाका भाइ अशोक कोइराला सरल नेताका रुपमा चिनिएका छन् । बुवा बोधप्रसाद कोइराला र आमा कुमुदिनी कोइरालाको पाँचांै सन्तानका रुपमा बिराटनगरमा उनको जन्म भएको थियो ।
२०४४ सालमा नेपाली कांग्रेसको जिल्ला सभापति भएर निरन्तर १९ वर्षसम्म नेतृत्व गरेका थिए । पछिल्लो समय कोइरालाले मोरङमा अभिभावकीय भूमिकामा रहेर पार्टीका सभा, सम्मेलन तथा विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउँदै आएको विराटनगर महानगरपालिका उपप्रमुख तथा कांग्रेस नेतृ इन्दिरा कार्कीले बताइन् ।
कोइरालाका पत्नी, एक छोरा र एक छोरी छन् । उनको बिहीबार विराटनगरमै अन्तिम संस्कार गरिने भएको छ । त्यसअघि अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा पार्थिव शरीर राखिने पार्टी कार्यालयले जनाएको छ ।

Facebook Comment