ओलीले अब पार्टीको नाम ओली गुट वा गोली गुट लेखे हुन्छ : माधव कुमार नेपाल

NAWALPUR TIMES

काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली गणतन्त्र विरोधी भएको आरोप लगाएका छन्।
अधिकार क्षेत्र बाहिर गएर प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताउँदै नेता नेपालले ओलीलाई कुलकै कुलंगार भएको आरोप लगाए। केपी शर्मा ओलीको संसद विघटनको पक्षमा कुनै पनि राम्रो मान्छे नउभिएको भन्दै नेपालले भने, ‘असल मान्छेलाई सोध्नु, आन्दोलनमा लागेका यौद्धालाई सोध्नु केपी ओली कुल कै कुलंगार हुनपुगे। पार्टीको कलंकी व्यक्ति भए। संविधान कुच्चिए।’
आज सुर्खेतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले कहिले पनि प्रधानमन्त्री ओलीलाई गणतन्त्रको माया नभएकाले अहिलेको अवस्था आएको बताए। ‘आफुले जन्माएको बच्चाको मात्र माया हुन्छ। गणतन्त्र केपी ओलीले जन्माएको होइन। त्यसैले उहाँलाई माया छैन।’
केपी ओलीसँग गुटवादी प्रवृत्ति भएको समेत आरोप लगाए उनले। उनमा कम्युनिष्ट सोच नभएको दावी गरे। सधैं अरुलाई हेप्ने स्वभावको भएको समेत बताए। केपी ओलीले अन्याय र अत्यचारमात्र गर्ने गरेको नेपालको दावी थियो। त्यस्तै, उनी २०२८ सालमा झापाबाट भागेर हिंडेको भगौडाको समेत संज्ञा दिएका थिए। झापामा सिपी मैनाली, झलनाथ खनाल, मुकुन्द न्यौपाने जस्ता नेतासँग मिल्न नसकेर भागेको आरोप नेता नेपालले लगाए।
‘मैले नै रौतहटमा जिल्लामा ल्याएको हो। अहिले माधव नेपाल कहाँ भन्छ, विर्सेछन्। मेरो डेरामा दुई महिना बस्न आउने को? केपी ओली,’ उनले भने।
प्रधानमन्त्री ओलीले आफ्नो भाषणमा माधवकुमार नेपाल आफूभन्दा धेरैपछि राजनीतिमा आएको टिप्पणी गर्दै आएका छन्।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीलाई अधिकार नदिएकाले संसद पुर्नगठन हुने नेता नेपालको दाबी छ। ‌ओलीलाई पार्टी सदस्यबाट नै निस्कासन गरिने उनले बताए।
नेपाल कम्युनिष्ट पार्टी आफ्नो भएको दाबी गर्दै अब पार्टीको नाममा ओलीले अरु कुनै नाम जोड्नुपर्ने बताए।
‘नेकपा ओलीले अब पार्टीको नाम ओली गुट वा गोली गुट लेखे हुन्छ,’ उनले भने। उनले केपी ओलीको धुलो पार्टी भएको समेत बताए। ओलीले दिने विभिन्न लोभ र पदमा लागेर नजान समेत उनले आग्रह गरे। ‘केपी ओलीको भविष्य छैन। कोही मिठो बोलीमा भुलेर जानु भएको छ भने आउनुहोस्,’ नेता नेपालले भने।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology