काठमाडौं । पुनर्स्थापनापछि प्रतिनिधि सभाको दोस्रो बैठक आज बस्दै छ । संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको छ । आजको बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ ।
आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन) , तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्ने कार्यक्रम रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
आजको बैठकमा पूर्व तथा बहालवाला गरी १४ सांसदको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची समेत छ।
यसअघि फागुन २३ गतेको पहिलो बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस गर्दा फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकै अवरुद्ध पारेको थियो । प्रचण्ड–नेपाल पक्षका सांसदले पनि बैठक बहिष्कार गरेका थिए । जसका कारण सभामुख अग्नि सापकोटाले बैठक स्थगन गरी २६ गतेका लागि बैठक बोलाइएको थियो ।
।
Facebook Comment